बिर्तामोड, असार २७ । एमाले नेता ज्ञानुराम प्रसाईको परिवारले समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जली मात्रै व्यक्त गर्न शुभेच्छुकसँग आग्रह गरेको छ ।

लामो समवेदना पत्रसहित उपस्थित हुने विद्यमान शैलीका कारण पीडामाथि झन् पीडा हुने भन्दै प्रसाई परिवारले आफ्ना शुभेच्छुकसँग समवदेनापत्र नल्याउन अनुरोध गरेको हो ।
नेता प्रसाईको असार २५ गते चारआली– चन्द्रगढी सडक खण्डमा आफैँले चलाएको कार दुर्घटनामा परी निधन भएको थियो । प्रसाई परिवारले आफूहरुमाथि परेको बज्रपात सहन गर्न कठिन भइरहेका बेला समवेदना पत्रसहित उपस्थित हुने र वाचन गर्ने शैलीले थप मर्माहत बनाउने जनाएको छ ।
परम्परागत यो शैलीलाई हटाइदिन प्रसाई परिवारले आग्रह गरेको भाई टीका प्रसाईले बताए । उनले भने–’कतिपय अवस्थामा समवेदना पत्र पढ्नासाथ परिवारजन भावविह्वल हुने गर्छन् । सीसाका फ्रेममा सजाएर ल्याइएका समवेदनापत्र राख्ने ठाउँ समेत अभाव हुन्छ । ’ प्रसाईका श्रीमती पवित्रा, छोरा प्रजेश, छोरी प्रज्ञा र भाइ टीकाले ज्ञानुरामको दशगात्र कर्म गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्