दमक,असार २८ । सरकारले गोरखापत्र संस्थानमा दुई सल्लाहकार नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको असार २४ गतेको निर्णय अनुसार संस्थानको कानुनी सल्लाहकारमा कृष्णकुमार आङ्देम्बे नियुक्त भएका छन् । मिक्लाजोङ गाउँपालिका १, पाँचथर निवासी आङ्देम्बे दुई वर्षका लागि नियुक्त भएका हुन्। नेपाल बारका पूर्व केन्द्रीय सदस्य रहेका आङ्देम्बे कानुन क्षेत्रमा अनुभवी मानिन्छन् ।

यस्तै, बुटवल उपमहानगरपालिका ९ रुपन्देहीका दीपक ज्ञवालीलाई पनि संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङसम्बन्धी सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गरेको जनाईएको छ । संस्थान ऐन २०१९ को दफा १४ को उपदफा १ बमोजिम दुवैलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । सल्लाहकारद्वयलाई हिजो मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बसन्तकुमार नेम्वाङले नियुक्त पत्र हस्तान्तरण गरे । उनले पद र जिम्मेवारीमा रहँदासम्म संस्थान सुधारमा सकारात्मक क्षमता प्रदर्शन गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्