अर्जुनधारा, असार २८ । खेलकुदको विकासमा अहोरात्र योगदान दिएका चार अग्रज व्यक्तित्वलाई अर्जुनधारा नगरपालिकाले आइतबार एक कार्यक्रमका बीच नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाअन्तर्गत रहेको खेलकुद विकास समितिले एथलेटिक्सका हेमनारायण चौधरी, करातेका नारायण सुब्बा, तेक्वान्दोका जितेन मेचे र फुटबलका भगिरथ आले ‘मामा’लाई नगदसहित सम्मान गरेको हो ।उनीहरुलाई जनही नगद १५ हजारसहित सम्मान पत्र र दोसल्ला ओढाई दीर्घ खेलकुद सेवा सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सम्मानपत्र प्रदान गरेका थिए ।नगर प्रमुख हरिकुमार राना र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईले नगद तथा समितिका संयोजक अर्जुन मेचेले दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए भने सम्मानितहरुको व्यक्तित्व परिचय समितिका सदस्य एवम् सञ्चारकर्मी रमेश समदर्शीले वाचन गरेका थिए । कार्यक्रमका वक्ताहरुले नगर राष्ट्रका लागि योगदान दिने श्रष्टा र खेलाडीहरुको प्रशंसायोग्य सम्मान कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सम्मानित व्यक्तित्वका तर्फबाट भगिरथ आले ‘मामा’, साहित्यकार सरोज ओली र साहित्यकार कोमलप्रसाद पोखरेलले आफ्ना भनाइ राखेका थिए ।सोही कार्यक्रममा अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संंस्कृति प्रवद्र्धन समितिले साहित्यकार सरोज ओलीलाई ‘अर्जुनधारा दीर्घ साहित्य सेवा’ पुरस्कार’ प्रदान गरियो ।पहिलो पटक ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार २०७८’ बाट झापाका अगुवा साहित्यकार ओलीलाई नगद ५१ हजारसहित सम्मान गरिएको हो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कुमार भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्