बिर्तामोड , असार २८ । बिर्तामोडमा केही महिनाअघि भएका तीनवटा ‘हत्या’का घटनामा संलग्नलाई प्रहरीले कार्वाही गर्न नसकिरहेका बेला आज फेरि त्यही प्रकृतिको अर्को घटना दोहोरिएको छ ।

यसरी अपराध बढ्दै जानुमा प्रहरी प्रशासनको कमजोरी देखिएको भन्दै असन्तुष्ट बनेका नगरबासीहरुले असुरक्षा महसुस गर्न थालेका छन् । बिर्तामोडमा आज बिहान एक युवतीको अर्धनग्न अबस्थामा शब फेला परेको हो । बिर्तामोड–५ स्थित आफ्नै निवास अगाडि २६ वर्षिया सिर्जना बस्नेतको शव फेला परेको हो । बिर्तामोड–५ को सुगम पेट्रोल पम्पबाट १ सय मिटर उत्तरमा उनी मामाको घरको दोस्रो तलामा बस्दै आएकी थिइन् । सृजनशील बचत तथा ऋण सहकारी संस्था बिर्तामोडमा कलेक्टरको काम गर्दै आएकी सृजनाको शंकास्पद मृत्युका बारेमा अनुसन्धान गर्नका लागि धरानबाट कुकुर झिकाइएको प्रहरीले जनाएको छ । उनीसंगै एकाघरमा आमा र दाजु समेत बस्दै आएका थिए ।
घटना नं १
गत पुस ५ गते बिर्तामोड नगरपालिका –२ चैतुबारीमा स्थानीय बिरबल राजवंशीकी श्रीमती ४२ बर्षिया दिनोसरी राजवंशीको शव खेतमा फेला पर्यो । राति नै कसैले हत्या गरेर खेतमा शव फ्याकिदिएको त्यस घटनाको प्रकृतिले देखाएपनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।
घटना नं २
गत चैत २२ गते बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परे । उनलाई कसैले हत्या गरेर जंगलमा फ्याकिदिएको आशंका गरियो । तर, घटनाको वास्तविकता के हो त्यो अझै गुमराहमै रहेको छ ।
घटना नं ३
बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको शंकास्पद मृत्यु भएको तीन दिनपछि बिर्तामोडमै अर्का एक व्यक्ति मृत फेला परे ।
हत्या गरेर फ्याकेको अबस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा फेला परेको थियोे । परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्यत्र हत्या गरेर लाश त्यहाँ फ्याकेको हुनसक्ने आशंका गरिएको थियो ।त्यस घटनाको अनुसन्धान अनुसन्धानमै सीमित रह्यो । घटनाको वास्तविकता सार्वजनिक गरिएन ।
घटना नं ४
एकपछि अर्को अपराध हुँदै जानु र प्रहरीले कार्वाही गर्न नसकिरहेका बेला आज सोही प्रकृतिको घटना घट्न गएको हो । बिर्तामोडमा आज बिहान अर्धनग्न अवस्थामा २६ वर्षीया युवती सृजना बस्नेत फेला परेकी हुन् ।
बिर्तामोडमा सुरक्षा चुनौती
एकपछि अर्को अपराध घट्दै गएपछि बिर्तामोडमा सुरक्षा चुनौती देखिएको छ । स्थानीयवासी त्रसित छन् । एकपछि अर्को घटना भएपछि बिर्तामोड नगरपालिकाले तीन महिना अगाडि बिर्तामोड नगरको शान्ति सुरक्षालाई थप व्यवस्थित बनाई नगरबासीहरु सुरक्षित भएको महसुस हुनेगरीको आबश्यक प्रबन्ध मिलाउन प्रहरी प्रशासनसँग माग गरेको थियो । दिनहुँ व्यक्ति हत्या भइरहँदा बिर्तामोडबासीहरु अत्यन्तै दुखित र चिन्तित बनेको भन्दै नगर प्रमुख धु्रवकुमार शिवाकोटीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई पत्रमार्फत ध्यानाकर्षण गराएका थिए । तर , बिर्तामोडको सुरक्षा व्यवस्था सुदृढ हुनुको साटो अपराधले अझ प्रश्रय पाउँदै गएको छ । गत माघ महिनादेखि इलाका प्रहरी कार्यालय बिर्तामोडको कमाण्ड प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले सम्हालेका छन् । माथि उल्लेखित चारवटा घटनामध्ये तीनवटा आचार्यको कार्यकालमा भएका हुन् । पहिलो घटना यसअघिका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालको पालामा भएको थियो । त्यसको अनुसन्धान गर्न नपाई रिजाल यहाँबाट सरुवा भएर गए ।
झापाको व्यापारिक केन्द्र बिर्तामोडको शान्ति सुरक्षाको जिम्मेवारी लिएर आएका डिएसपी आचार्यको कार्यकुशलताप्रति यसअघि देखि नै नगरबासीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । आचार्यले सुरक्षा कायम राख्न नसक्दा अपराधका घटनामा बृद्धि भएको नगरबासीहरुको गुनासो छ ।
बिगत केही महिनायता बिर्तामोडमा एकपछि अर्को गर्दै निरन्तर भएका यी घटनाहरुबाट बिर्तामोडवासीले असुरक्षित महसुस गर्दै सुरक्षा निकायप्रति अत्याधिक गुनासोसहित कार्य सम्पादनमा प्रश्न उठाउन बाध्य हुनु परेको स्थानीय विरु दर्नालले बताए । उनले यस्तै अवस्था रहे सुरक्षा निकायप्रति जनविश्वास कमी हुँदै जाने छ भन्दै घटनाको सत्य तथ्य छानबिन गरी अपराधीलाई कार्बाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्