झापा , असार २८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिएका छन् ।

कोटेश्वरस्थित वन पैदावारमा बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सर्वाेच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराएका हुन् ।
‘लोकतन्त्र, गणतन्त्र, संघीयता र अग्रगमनका लागि हुने जुनसुकै लडाइँमा मेरो सधैँ साथ रहन्छ, तर अहिले हाम्रो पार्टी फरक परिस्थितिमा एकताको प्रक्रियामा छ र त्यसअनुसार काम अगाडि बढी पनि रहेको छ, त्यसैले अब हाम्रो पार्टी नेकपा एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ, फरक तरिकाले अगाडि बढ्ने भन्ने हुँदैन, तपाईंहरूले एमालेसँग पनि मुलुकको हितका निम्ति छलफल र सहकार्यको कोसिस गर्नुहोला ’ बैठकपछि नेपाललाई उद्धृत गर्दै स्थायी समिति सदस्य रघुजी पन्तले भने ।
पार्टी विवाद समाधानका लागि गठित दश सदस्यीय एकता कार्यदलले एकताको दशबुँदे सहमति तयार पारिसकेपछि पनि नेपालले विपक्षी गठबन्धनको औपचारिक बैठकमा सामेल भएर आफ्नो समूह औपचारिक रूपमा बाहिरिने जानकारी गराएका हुन् ।
त्यसअघि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाललाई नेता नेपालले आफू गठबन्धनको बैठकमा सहभागी भएर औपचारिक रूपमा बाहिरिने जानकारी गराउने बताएका थिए । नेपालको यस्तो प्रतिबद्धतापछि उपाध्यक्ष रावल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

रावलको सन्देशपछि ओलीले साँझ बोलाएको स्थायी कमिटीको औपचारिक बैठकलाई अनौपचारिक छलफलमा परिणत गराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्