सुरेश आले “सर्जु”
बिर्तामोड , असार २९ । बिर्तामोड नगरपालिका वडा न.९ र १० को आसपासमा गाउँलेको घर–घरमा साइकलमा उपभोग्य वस्तु बिक्री गर्दै हिड्ने एकजना महिलालाई तपाई हामीले देखेको हुनुपर्छ । तिनलाई नचिन्नेले साइकलमा के छ वास्ता गर्दैनन् तर, चिन्नेहरुले दिदी वा बहिनी सम्बोधन गरेर घरायसी प्रयोजनको लागि चाहिने आवश्यक सामग्री छ कि छैन सोध्ने गर्छन् ।

तिनले आवश्यक सामग्री छ छैन सहज रुपमा जवाफ दिन्छिन् ।उनको नाम मनकुमारी राजवंशी हो । तिनले विगत ४ वर्षदेखि घरायसी सामग्री बिर्तामोड नगरपालिका वडा न.९ र १० का गाउँलेको घर–घरमा साईकलमा राखेर बिक्री गर्ने गरेकी छन् । तिनले दिने गरेको यस प्रकारको सुविधाबाट यस भेगका गाउँलेहरु आफूहरु लाभान्वित भएको कुरा सुनाउने गर्छन् । सस्तो र होलसेल मूल्यमै घर आँगनमै आवश्यक सामग्री खरिद गर्न पाएपछि गाउँलेहरु लाभान्वित भएका हुन् । यसले गर्दा उनीप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । यो उनले ब्यापार शुरु गरेदेखि नै लिँदै आएको ब्यापारिक रणनीति पनि हो । यसलाई उनले आफ्नो ब्यापारको मूख्य रणनीति मानेकी छन् ।
उनको साईकलमा अगाडी पछाडी झोला हुन्छ । झोलामा गाउँलेको रूचि अनुसारको सामग्री बिक्रीको लागि राखेकी हुन्छिन् । हिँड्दा–हिँड्दै गाउँलेले उनलाई यो छ ऊ छ भनेर सामानको नाम सुनाउँछन् । उनले आफूसंग भएको सामान उनीहरुलाई दिने गरेकी छिन् । यसरी उनी आफ्नो सामान बिक्री गर्छिन् । हिडेरै साइकलबाटै उनले दैनिक ६ देखि ८ हजार रुपैयाँसम्मको सामान बिक्री गर्ने गरेको सुनाईन् । आजकाल यस भेगमा उनलाई सबैले पसले मनकुमारी भनेर चिन्न थालेका छन् । उनको घरगुजारा चलाउने आयआर्जनको मुख्य स्रोत अहिले साइकल ब्यापार बनेको छ ।

उनले यसरी सामान बिक्री गर्ने क्षेत्र बिर्तामोड नगरपालिका वडा न.१० को ठुटेबर, तेलगानी, बिराटपोखर र वडा नं. ९ को नडियाबाडी, बद्रीबाडी , कोलाटोलीलगायतका आसपासको क्षेत्र हो । यस भेगका गाउँलेले घरैमा अहिले मनकुमारीको साईकल पसलबाट उपभोग्य सामान खरिद गर्ने सेवा प्राप्त गरिरहेका छन् । उनको साईकल पसलमा तेल, नुन, चिनी, साबुन, बेसार, जिरा, मसला, मटर, चना,सर्फ, अगरबत्तीलगायत अन्य धेरै उपभोग्य सामग्री हुन्छ ।
उनले बिर्तामोड र बिर्ताबजारको पसलबाट यी सामानहरु किनेर गाउँलेहरुलाई कम नाफा खाएर आँगनमै लगेर बिक्री गर्छिन् । यसै हुनाले उनलाई कतिपय ग्राहकहरुले सानो मिनी सुपरमार्केट समेत भन्ने गरेका छन् । उनको यस कार्यबाट गाउँलेहरुले सानो तिनो सामान लिन पसल बजार धाउनु पर्ने झन्झटबाट मुक्त भएको कुरा सुनाए । घरैमा बजारको मूल्यमा सस्तो सामग्री पाएपछि बजारबाट त्यस्ता सामग्री ल्याउन छाडेको र उनीबाटै किन्ने गरेको उनका नियमित ग्राहकहरुको भनाई छ ।

यस कार्यमा उनलाई उनका श्रीमान कृष्ण राजवंशीले सहयोग गर्ने गरेका छन् । दुवैजना मिलेर गरेको यस साइकल पसलबाट उनीहरुको घरगुजारा राम्ररी चलिरहेको छ । ‘एकजना छोरी जसलाई पढाउने र घर खर्च चल्ने पैसा हुन्छ’ उनका श्रीमान् कृष्ण राजवंशीले भने । उनीहरु ३ जनाको परिवार अहिले बिर्तामोड नगरपालिका वडा न.९ बद्रीबाडी टोलमा बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्