वर्तमान समयमा धर्मशाला निर्माण कार्य प्रतिष्पर्धात्मक रुपमा अघि बढेको भेटिन्छ । भगवानको नाम बेचेर करोडौं पैसा जम्मा गरिन्छ । सोझो औलाले घिउ आउँदैन भनी विभिन्न आश्वासन देखाएर सोझा , दयालु हृदयबाट रकम हाता पारिन्छ । ५०% त केही भक्तजनको आँखामा छारो लाउनमा केही भवन निर्माण गरिन्छ भने ५०% राजनीतिज्ञ , चाप्लुसी गर्न सिपालु आफूले आफूलाई महान सम्झिने लाटा देशका गांडा तन्नेरीको स्वार्थमा सदुपयोग हुन्छ । हाम्रो देशका राजनेताले मात्र भ्रष्टाचार गर्दैनन् यहाँ केही धार्मिक गुरु भनी आफूलाई चिनाउने व्यक्तिले पनि सोझा, सरल , निर्मल, दयालु भक्तजनको पसिनाको शोषण गरेको सुन्नमा पाइन्छ । हाम्रो मानव सभ्यता ढुंगे युगबाट बैज्ञानिक युगसम्म आइपुग्दा पनि प्रकृति माताले आफ्नो नियम छोडेकी छैनन् । जस्तै उदाहरणका लागि दिन पछि रात अनि रात पछि दिन । सूर्य परापूर्वकालदेखि नै पूर्वबाट उदाउनु र पश्चिममा अस्ताउनु आदि इत्यादि ।

मानव जति जति शिक्षित बन्दै गए पनि हत्या र हिंसा बढ्दो क्रम छ र झन् अहिलेको तत्कालको परिस्थिति हेर्दा धेरै छोरी चेलीले अकालमा बलात्कृत भएर ज्यान गुमाएका छन् । जतिसुकै हस्पिटल खोलिए पनि दिनानुदिन बिरामी बढ्दो क्रममा छन् । जति नै डाक्टर भए पनि रोग घट्ने होइन, बरु नयाँ नयाँ भाइरस , रोग देखा पर्न थालेका छन् । हाम्रो मानव जगतको इतिहास हेर्ने हो भने करिब ५ हजार वर्षको देखिन्छ तर, यत्रो लामो मानव इतिहासमा पूर्ण मानव भने यदाकदा मात्र अवतरित भएको देखिन्छ । यसको मुख्य कारण नारीमाथिको शोषण हुनु नै हो ।
.

अबको समय कुनै धर्मशाला निर्माण गर्ने होइन यो त धुर्तले सोझालाई ठग्ने माध्यम मात्र बनेको छ । यो स्वार्थ पूर्ण गर्ने बहाना मात्र बनेको छ । अब भनेको साहसिक नारी तयार गर्ने , मुक्त नारी तयार गर्ने समय आएको छ । आउनुहोस् सम्पूर्ण आमा दिदीबहिनी आगामी दिनमा हाम्रा कुनै दिदीबहिनी, छोरीचेलीले अन्याय र अत्याचारमा फस्नु नपरोस् । हाम्रो देशको कानूनले , सुरक्षा निकायले अन्यायी अत्याचारीलाई निर्मुल पार्न सकेन । नारी पीडालाई नारीको महिमालाई बुझ्न सकेन । त्यसको लागि नयाँ क्रान्तिको सुरुवात गरौं । एकले थुकि सुकि सयले थुकि नदी भनेझैं हजुरहरुले गरेको एक–एक साथ सहयोगले पनि हामीले केही गर्न सक्ने छौं । यसको लागि हामी नारीले अघि सर्नुपर्ने देखिन्छ आफ्नो हकहितको लागि ।

हाम्रो देश नेपालमा अनेकौं क्रान्तिहरु भए र भइरहेका छन् । तर, मौलिक र मुलभूत क्रान्ति अहिलेसम्म भएको देखिन्न । कहि धर्मको लागि क्रान्ति गरिन्छ , कहि पार्टीको लागि क्रान्ति गरिन्छ । तर, मुलभूत क्रान्ति भने अझै हुन सकेको छैन र त्यो क्रान्ति भनेको नारी मुक्ति नै हो । किनकि नारी मुक्त नभइकन यहाँ आपराधिक घट्ना घटिरहन्छन् । यसको जवाफ सिदासिदा छ । निर्मला पन्तको त्यस्तो निर्दयी घट्ना घट्दा पनि सरोकारवालाले अपराधीलाई जोगाउने काम गर्याे । तत्काल अपराधी पक्रिन नस्क्नु यो नारीमाथिको अपहेलना हुन जान्छ । यस्ता घटनाहरु निरन्तर बढिरहेका छन् । ती शिक्षित व्यक्तिले के गर्न सके ? ती धार्मिक व्यक्तिहरुले यसको न्यूनीकरणका लागि अहिलेसम्म के कदम चाले ? आफ्नो स्वार्थका लागि भगवानको कथा सुनाएर मख्ख पारी अल्मल्यान उद्धत छन् । ती धार्मिक भनाउँदा पण्डितहरुले आपराधिक कार्यलाई न्यूनीकरण गर्न के कदम चालेका छन् ? नेताहरू त भ्रष्टाचार गर्नमा ठिक्क छन रे । खोइ शिक्षित वर्गको योग्दान के छ ? धार्मिक वर्गको योगदान के छ ? कि मैले थाहा नपाएकी हँु कि ! यदि थाहा नपाएकी भए समाजमा दिनप्रतिदिन नारीको किन शोषण गरिन्छ अब जवाफ खोजौं सम्पूर्ण आमा दिदीबहिनीहरुले ।

कहिलेसम्म नारी यो समाजको खेलौना बनेर बस्ने ? अपराधी पुरुषबाट शोषित भएर बस्ने ? हेर्नुहोस् सिंगो मानव जातिको इतिहास पल्टाएर हेर्ने हो भने प्रत्यक्ष रुपमा नारीजाति जति शोषित भए, यिनीहरूमाथि जति शोषण , दमन , अत्याचार भयो, त्यस्तो बरबरतापूर्ण व्यवहार अरु कसैमाथि पनि भएको पाइदैन । त्यसै बाहिरी रुपमा ढुंगे युगबाट बैज्ञानिक युगमा आइसक्दा पनि आन्तरिक रुपमा मानव जाति अथवा मानव जातिको सभ्यताको इतिहास नै मानवले मानव उपर गरेको अत्याचार , हिंसा , उत्पीडनको इतिहास हो भन्दा फरक नहोला ।

आफ्नो सजाति उपर गरिएको हत्याको रक्तद्वारा रचित ईतिहास बोक्ने केवल मान्छे मात्र हो,युद्ध ,हत्या ,हिंसा नभइकन एक दशक मात्र पनि बितेको उदाहरण पाउन मुस्किल छ , मानव सभ्यताको ५ हजार बर्षको समय बितिसक्दा पनि । मानव सभ्यताको इतिहास हेर्दा शान्तको वातावरण धरतीमा कहिल्यै भएन । मान्छेले शान्ति भने कहिले देख्न पाएको छैन । किनकि पृथ्वीको कुनै न कुनै भागमा युद्ध , हत्या , हिंसा , दंगा– फसाद आदि भैरहेकै देखिन्छ । त्यसैले मान्छे भनेको हिंसाप्रति उद्धत कुत्सित प्राणी हो भन्दा फरक नपर्ला । यहि कारण भन्न सकिन्छ– मानव जातिको इतिहास भन्नु नै सजाति हत्या ,शोषण ,घृणा र अत्याचारको ईतिहास हो र वर्तमान समयमा आइपुग्दा पनि केही रुप परिवर्तन भएर विद्यमान छ । यस प्रकार सारा दुनियाँ नै शोषणले ग्रसित छ र मानव जगतको एउटा मुख्य पक्ष खोज्नु पर्दा शोषण नै शोषणको इतिहास भेटिन्छ । यो शोषित वर्गमा पनि एक विशाल वर्ग छ । जसको संख्या सम्पूर्ण मानिसहरुको संख्याको आधा छ र जसलाई शोषण मात्र होइन महाशोषण गरियो र गरिँदै छ , त्यो नारी वर्ग हो ।त्यसैले इतिहासमा सबैभन्दा शोषित ठूलो वर्ग नारीहरुको छ । अचम्मको कुरा त के छ भने यति लामो इतिहासमा कुनै खास विद्रोह कसैले गरेको देखिदैन वा गर्न सकेका छैनन् ।

उनीहरुले यस्तो अन्याय र अत्याचारबाट मुक्त हुने कुनै कोसिस नै गरेनन् किन होला ? भन्ने जिज्ञासा सबैको मनमा होला । धैर्य गरेर पढ्नुहोस् जिज्ञासाको समाधान छर्लंग छ । किनकि राजनीतिक दृष्टिकोणबाट होस् वा धार्मिक मान्यता वा समाजको परम्पराबाट होस् नारीलाई पुरुष निर्भर रहेर बाच्ने बनाइयो । यसप्रकार शारीरिक रुपमा कोमल नारीलाई मानसिक रुपमा दुर्बल बनाएपछि उनीहरुलाई पुरुषले अत्याचार र शोषण गर्न कठिन भएन । कतिपय नारीहरु मनोबैज्ञानिक रुपमा कमजोर भएकाले नै नारीहरु पुरुषको आधारबिना बाँच्न नसक्ने कल्पना गर्छन् । आफूमाथि पुरुषको सुदृष्टि परिरहोस् भन्ने कामनाले गर्दा नै प्रायः उनीहरु श्रृङ्गार र पहिरनले सुसज्जित बनिरहन्छन् उनीहरु आफूलाई पुतली बन्नमा खुशी सम्झिन्छन् । त्यसैले नारी साहसिक बन्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ । हरेक नारीले मुक्त हुनैपर्छ । आफ्नो अधिकार खोज्नुपर्छ । अहिलेको समयमा धर्मशाला बनाउनु भन्दा, ताजमहल बनाउनु भन्दा उत्तम हुन्छ सहि मानव निर्माण गर्नु । र, सहि मानव निर्माण नारीद्वारा हुने हुँदा नारीको गर्भकाल ,शिशुको जन्म र त्यसको लालनपालनमा सर्वाधिक महत्व दिइनु पर्छ ।यी कुराको अभावमा भोलि बलत्कारी , हत्यारा , निर्दयी सन्तान पैदा हुन सक्छन् । जसले समाजमा झन् अशान्तिको वातावरण सिर्जना हुन सक्छ । जुन मानव जातिको लागि अभिसाप सावित भइसकेको छ । त्यसैले धर्मशाला, ताजमहल , नयाँ मोडलको कम्प्युटरको आविष्कार भन्दा पनि सही मानव बनाउने कार्यलाई गुरुतर मानिने परम्परा र सम्झदारीको वातावरण पारिनु अति आवश्यक देखिन्छ । यसका लागि शिशु जन्माउने हुर्काउने कार्यमा घर परिवार समाज तथा सम्बन्धित निकाय ,सरकारले पनि सहयोग दिनुपर्छ । हरेक गर्भवती महिलालाई सरकारले भत्ता दिने व्यबस्था गर्नुपर्छ । यस्तै नारीहरु प्रत्येक महिनामा महिनावारी हुन्छन् । मनोबैज्ञानिकहरुको खोज अनुसार यस अवस्था नारीहरु शारीरिक र मानसिक रुपमा अस्वस्थ हुन्छन् र नारीहरुले अधिकांश अपराधहरु यहि कालमा हुने गरेको पाइएको छ । यस्तो अवस्थालाई मध्यनजर गरी नारीलाई यस समयमा विश्राम तथा मनोरञ्जनको व्यबस्था गरिनुपर्छ ।

धेरै समय पहिला महान दार्शनिक अरस्तुले भन्नु भएको कुरा यहाँ जोड्न सान्दर्भिक देखँे ।उहाँले भन्नुभएको थियोे – नारीको उन्नति र अवनतिमै समाजको उन्नति र अवनति गाँसिएको हुन्छ तर यद्यपि हामीले त्यो महसुस गरेका छैनौं ।नारी शैक्षिक रुपमा शिक्षित , बौद्धिक रुपमा अब्बल एवम् आर्थिक रुपमा सबल भएमा मात्र घर परिवार ,समाज , देश हुँदै सिंगो विश्वको बाहिरी जगतमा उन्नति र आन्तरिक जगतमा शान्ति द्रुत गतिमा हुन्छ । सबल माताले मात्र शारीरिक रुपमा स्वस्थ , मानसिक रुपमा प्रसन्न र सामाजिक रुपमा सु– सम्बन्ध कायम राख्न सक्ने बच्चाको जन्म दिन सक्छिन् । जुन घर परिवारको लागि मात्र नभएर समाज , राष्ट्र साथै विश्व जगतको लागि र मानव इतिहासमै अमुल्य धन बन्न जान्छ । विगतदेखि वर्तमान सम्मको पुरुषको स्थिति हेर्दा कुनै न कुनै रुपमा दुर्बल भएका माताले पैदा गरेका पुरुष हुन् । त्यसैले यदाकदा पूर्ण मानवको पैदा भएको पाइन्छ त्यो पनि सिगो मानव इतिहासमा ५–७ जना ।

मलाई लाग्छ भोलि सर्वांगीण विकास भएका माताबाट जन्मिएका सन्तान निश्चय पनि अहिलेभन्दा हरेक दृष्टिकोणबाट ती भावी सन्तति सबल बन्ने छन् । यस्ता सन्तान नै महामानव बनी, पूर्ण मानव बनी नयाँ इतिहास रच्ने छन् । त्यसैले वास्तविक नारी मुक्तिबाट नै हाम्रो जीवन सुन्दर बन्ने छ । सारा क्रान्तिले खोजेको र रोजेको सपना नारी मुक्तिले साकार गर्ने छ । त्यसैले सबैभन्दा महत्वपूर्ण क्रान्ति नारी मुक्ति अभियान बन्ने छ । आउनुहोस् अघि बढांै साथ साथै ।यो अभियानलाई सफल पार्न तन, मन , धन समय दिएर साथ दिने जो हुनुहुन्छ कृपया कमेन्ट गर्न नभुल्नु होला ।जय नारी । नारीको सम्मान गरौँ । नारीको महिमा बुझौं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्