भद्रपुर , असार ३१ । झापामा निषेधाज्ञा अझ खुकुलो बनाएकै दिन आज सातजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यसमध्ये मेची अस्पताल भद्रपुरमा ३ जनाको मृत्यु भएको छ । भद्रपुरका ८८ वर्षिय पुरुष र ७४ वर्षिय पुरुष तथा अर्जुनधाराका ६७ वर्षिय पुरुषको मेचीमा मृत्यु भएको हो । त्यस्तै मेचीनगरका ७० वर्षिय पुरुष र शिवसताक्षीकी ६० वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यस्तै मोरङ रतुवामाईकी ६५ वर्षिया महिला र लेटाङका ५२ वर्षिय पुरुषको दमकको आम्दा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा झापाका ७२ जनालाई कोरोना संक्रमण भएको छ । ४१ महिला र ३१ पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कूल संक्रमितको सँख्या १८ हजार ४३८ पुगेको छ । त्यसमध्ये १३ हजार ५०६ जना डिस्चार्ज भएका छन् । अझै २ हजार २३३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन
आजदेखि झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको हो ।
जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । झापामा कोरोना संक्रमितको सँख्यामा कमी नआएकोले एक साता निषेधाज्ञा बढाएको उनले बताए । लामो दुरीका सार्वजनिक यातायातको हकमा सरकारको निर्णय अनुसार अघि बढ्ने उनको भनाई छ । छोटो दुरीका सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ । अन्य निर्णय अघिल्लो पटक गरिएकोलाई नै यथावत् राखिएको उनले बताए । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको छ । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने छन् ।