बिर्तामोड , साउन १ । मध्यरातमा जंगली हात्तीले घर पूर्णरुपमा भत्काएपछि बिर्तामोड ७ विरानको एक सन्थाल परिवारको विचल्ली भएको छ ।

गएराति १२.३० बजे दुईवटाको सँख्यामा आएका जंगली हात्तीले फागु सोरेनको घर पूर्णरुपमा भत्काएर क्षतिग्रस्त पारेको हो । ‘घर भत्काउन थालेपछि बिजुलीको तार चँुडिएर करेन्ट लागेपछि मात्र हात्ती भागेको नत्र मानवीय क्षति हुन्थ्यो’स्थानीय शिक्षक डिल्लीराम चम्लागाईले भने । सुत्ने घर पूर्णरुपमा भत्किएपछि ३ छोरा र २ छोरीसहित सोरेन परिवार सानो घरमा बसिरहेका छन् । सोरेनकी श्रीमतीको दुई वर्षअघि निधन भएको हो । जनमजदुरी गरी गुजारा गर्ने सोरेन परिवारको घर हात्तीले भत्काएपछि बर्खामा निकै बिजोग भएको शिक्षक चम्लागाईले बताए ।


