बिर्तामोड , साउन १ ।नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएनसी) सैनिक बजार शाखा कार्यालयमा एक कार्यक्रमकाबीच कार्यालय प्रमुख विशाल ढुंगानालाई विदाई गरिएको छ ।

बिर्तामोड नगरपालिका–१० स्थित संस्थाको सैनिक बजार शाखा कार्यलयबाट स्थानान्तरण भई जान लागेका कार्यालय प्रमुख ढुंगानालाई कार्यालयगत उपसमिति,एकाई समिति र कर्मचारीहरुको तर्फबाट सम्मानसहित विदाई गरिएको हो ।
कार्यालय प्रमुख ढुंगाना संस्थाको चन्द्रगढी क्षेत्रीय कार्यालय स्थानान्तरण भएका हुन् भने यस अघि चन्द्रगढी शाखा कार्यालयमा कार्यरत सन्तोष ढुंगाना सैनिकबजार कार्यालय प्रमुखमा नियुक्त भएका छन्। सामान्यतः संस्थाको नियम अनुसार हरेक दुई वर्षको अवधिमा कर्मचारी स्थानान्तरण हुने नीति रहेको भए पनि ढुंगाना अधिकृत स्तरमा पदोन्नति भई एक वर्षको अवधिमा नै चन्द्रगढी स्थानान्तरण भएको बताइएको छ ।
सोही अवसरमा सञ्चारकर्मी रत्नबहादुर बस्नेतलाई सम्मान गरिएको छ। पत्रकारिताको माध्यमबाट सहकारीको गतिविधि प्रचारप्रसार गरी संस्थाको उन्नयनमा योगदान गरेको भन्दै पत्रकार बस्नेतलाई एनएमसी सैनिक शाखाको तर्फबाट नगदसहित सम्मान गरिएको हो। लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध बस्नेत स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत रहेका छन् ।
सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु सुनुवार मुखियाको अध्यक्षतामा भएको कार्यक्रममा उपसमिति सदस्य टिकाराम दंगालले स्वागत गरेका थिए। कार्यालयगत उपसमिति सदस्य गंगाप्रसाद मैनाली,२ नम्बर एकाई समितिका सचिव चन्द्रबहादुर राई,सदस्य ओमबहादुर गुरुङ, कर्मचारी पूजा थापालगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कर्मचारी पवन मैनालीले गरेका थिए। नेपालको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भइसकेको एनएमसीको हाल झापा, मोरङ र इलाममा ४४ वटा शाखा कार्यालय रहेका छन्। १अर्ब ७ करोड शेयर पूँजी तथा १लाख १० हजार भन्दा बढी शेयर सदस्य रहेको संस्थाले डेरी उद्योग, सहकारी पसल, नमूना कृषि फर्म, चिया प्रशोधन उद्योग र बैकिङ्ग व्यवसाय सञ्चालन गर्दै आएको छ।