भद्रपुर,साउन २ । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले बन्दाबन्दीको समयमा समेत उपभोक्ताबाट चर्को हर्जना असुलेको उपभोक्ताको आरोप छ ।

२०७८ बैशाखयता मिटर रिडिङमा कर्मचारी नपठाएको वितरण केन्द्रले सरकारको निर्देशनविपरित महशुल तिर्दा ढिलो भएको भन्दै ३० प्रतिशतमाथि हर्जना असुलेको पीडित उपभोक्ताले आरोप लगाएका हुन् ।
उपभोक्ता मोहन पोखरेलले बैशाखयता विद्युत कर्मचारी मिटर रिडङमा नआएपछि महशुल तिर्न असारको अन्तिम साता प्राधिकरणको कार्यालय भद्रपुरमा जाँदा ढिलो भएको भन्दै ३० प्रतिशतबढी हर्जना तिर्नु परेको बताए । उनका अनुसार ई–सेवा लगायत बैकिङ अनलाइन महशुल तिर्ने उपभोक्तामाथि पनि विगतको फाइन भन्दै अतिरिक्त महशुल जोडेर प्राधिकरणले तिर्न बाँकी सूचीमा राखेको पाइएको छ ।
सरकारी निर्णय अनुसार विद्युत महशुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय कार्यान्वयन नभएको समेत नियमित महशुल बुझाइरहेका ग्राहकको गुनासो छ ।



