बिर्तामोड , साउन २ । आफ्नै घर अगाडि आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी सिर्जना बस्नेतको हत्याराको पहिचान गरी कानुनी कठघरामा उभ्याउन राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ ।

राप्रपाको बिर्तामोड नगर समितिले आज एक विज्ञप्ति जारी गरी सिर्जनाको हत्याराको पहिचान गरी कानुनी कठघरामा उभ्याउन नसकेकोमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको हो ।
दिनप्रतिदिन शकास्पद मृत्युजस्ता जघन्य अपराधका घट्ना घट्नुले बिर्तामोड नगरको सुरक्षा स्थिति नाजुक एवं संवेदनशील बन्दै गइरहेको नगर अध्यक्ष रन्जु प्याकुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ यस्ता घटनाका दोषीलाई पहिचान गरी कार्वाही गर्न नसक्दा स्थानीयबासीे त्रसित एवं असुरक्षित छन् ।नागरिकहरुको सुरक्षाको जिम्मेवारी लिएको सुरक्षा निकाय असफल रहेको भन्दै चौतर्फी जनगुनासाहरु सुनिन थालेका छन् ।’
गत पौष ६ गते हत्या गरेर फालिएको अवस्थामा भेटिएकी स्व दिनु राजवंशी ,गत चैत्र २२ गते मृत भेटिएका बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला र भर्खरै अर्धनग्न अवस्थामा मृत भेटिएकी सिर्जना बस्नेतको घटनाको गम्भिरतापूर्वक छानबिन गरी अभियुक्तलाई कानुनी दायरामा ल्याई आम नगरबासीलाई प्रशासनप्रतिको भरोसा दिलाउन माग गरिएको छ ।



