बिर्तामोड, साउन ३ । झापा भद्रपुर–८ का युवा अर्पण शर्माले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ किर्तिमानका लागि दावी पेश गर्ने भएका छन् ।

मेमोरी किङका रुपमा चिनिएका शर्माले यसअघि सन २०१५ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका थिए । आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै शर्माले नयाँ किर्तिमानका लागि तयारी गरेको जानकारी दिए । उनले असार २६ गते भद्रपुरस्थित विरेन्द्र माविमा १ मिनेटमा ८३ वटा वस्तुको स्मरण गरेका थिए । सो प्रस्तुतिका आधारमा उनले गिनिज बुकमा दावी गर्ने बताएका छन् । विश्व रेकर्डमा हालसम्म १ मिनेटमा ५४ वस्तुको स्मरण गरेर गिनिज बुकमा नाम लेखाई सकिएको छ । सोहि किर्तिमानलाई शर्माले तोड्दै १ मिनेटमा ८३ वस्तुको स्मरण गरेका छन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्य, अरनिको माविका प्रधानाध्यापक पुरुषोत्तम खरेल, पत्रकार मोहनकाजी न्यौपानेलगायतले विलक्षण प्रतिभाका धनी शर्माको उत्तरोतर प्रगतिको कामना गरेका थिए । कार्यक्रमको संचालन प्रणित पुडासैनीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्