शनिश्चरे , साउन ३ । अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावक संघका प्रतिनिधिले आइतबार नगरपालिकामा तालाबन्दी गरेका छन् ।

शिक्षा शाखालगायत नगरपालिकाकै लापरबाहीका कारण शिक्षा शाखाअन्तर्गत विभिन्न शीर्षकमा आएको बजेट फ्रिज भएको भन्दै उनीहरुले नगरपालिकाको मुल ढोकामा ताला लगाएका हुन् । उनीहरुले नगरका प्रत्येक शाखामा रहेका कर्मचारीलाई बाहिर निस्कन आग्रह गर्दै ताला लगाएका थिए ।विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधारका लागि केन्द्रबाट आएको रकम नगरको लापरबाहीले फिर्ता हुने खबर पाएपछि शिक्षकहरु नगरपालिका आएका थिए । नगरमा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावक संघका प्रतिनिधिले तालाबन्दी गरेका हुन् ।नगरका ९ वटा सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र विद्यालय प्रवलीकरण शीर्षकमा आएको रकम फ्रिज हुने सम्भावना रहेको स्रोतले जनाएको छ । यस शीर्षकअन्तर्गत कम्तीमा १ करोड ८८ लाख रुपैयाँ फिर्ता भइजाने शिक्षकहरुको दावी छ ।तर, अधिकांश विद्यालयले प्रक्रिया पूरा गरेर संरचना निर्माण तथा शैक्षिक सामग्री खरिद गरेको शिक्षकहरुले बताएका छन् । समयमै भुक्तानीका लागि नगरमा कागजात पेश गरेको तर शिक्षा शाखा र लेखा शाखाको ढिलासुस्तीले रकम भुक्तानी नहुँदा फ्रिज हुने देखिएको जनाइएको छ ।यसैबीच, केही विद्यालयका फाइलहरु अपडेट भइसकेको, केहीका हुन बाँकी रहेको लेखा शाखाले जनाएको छ । अर्थ मन्त्रालयले असार ३० गते बेलुका नै सिस्टम लक गरेका कारण थप फाइलहरु अपडेट नभएको र असार ३१ गते कुनै काम गर्न नपाएको शाखाले जनाएको छ ।विद्यालयको संरचना तथा शैक्षिक सामग्री खरिदका लागि आफूहरुले ऋण लिएर काम गरेको बताउँदै उनीहरुले नगरले भुक्तानी नदिएका कारण तालाबन्दी गर्नुपरेको उल्लेख गरेका छन् । नगर र शिक्षा शाखाले कुनै योजना नदिने, बजेट नदिने तर आफूहरुले खोजेर ल्याएको योजनाको बजेट फ्रिज गराउने बेथितिको अन्त्यका लागि आन्दोलित बन्नुपरेको उनीहरुको भनाइ छ ।तालाबन्दी गरिएको समयमा नगर प्रमुख र कार्यालय प्रमुख थिएनन् । शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मी पनि बाहिर निस्कन लागेको समयमा शिक्षकहरु नगर प्रवेश गरेका थिए । शाखा प्रमुख रेग्मीलाई अनुरोध गरेपछि उनी पनि करिब २ घण्टा नगर परिसरमै रहेका थिए ।तालाबन्दी कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष तथा शनिश्चरे माविका शिक्षक पुण्य सुवेदीले नगरको शिक्षा शाखा भ्रष्ट, उदासिन, दोषी र अमानवीय भएको आरोप लगाए ।शिक्षक अभिभावकले विभिन्न शैक्षिक संरचनामा लगानी गरेको रकमको सुनिश्चितता नभइञ्जेल आन्दोलन जारी रहने उनले बताए । जनप्रतिनिधिको उदासिनताका कारण शैक्षिक क्षेत्रमा विकृति मौलाएको पनि उनको दाबी थियो । उनले नगर प्रमुख हरिकुमार राना भएकै बेला यसको सुनिश्चितता हुने कि नयाँ नगर प्रमुख ल्याउनुपर्ने भन्दै व्यंग्य गरे ।कोणसभालाई सम्बोधन गर्दै लक्ष्मी मावि व्यवस्थापन समितिका अध्यक्ष राम घिमिरेले कर्मचारीको नियतवश रकम फ्रिज बनाइएको दाबी गरे । उनले शिक्षासँगै, लेखा, प्राविधिक शाखाको मिलेमतो भएको भन्दै आक्रोश व्यक्त गरे ।सिंहदेवी माविका अध्यक्ष विष्णुलाल ढकाललगायतले सम्बोधन गरेको कार्यक्रमको सञ्चालन महासंघकी सचिव गंगा पोख्रेलले गरेकी थिइन् ।