झापा , साउन ४ । आफ्नै श्रीमतीको हत्या गरी विगत चार दिनदेखि फरार रहेका गौरादह १ शितल चौक बस्ने सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार ३१ गते बिहान ७ बजे मोरङ रंगेली ९ सखुवाथान घर भई हाल गौरादह १ शितल चौक बस्ने सजिलालले आफ्नै श्रीमती ३४ वर्षिया संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगेर निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेका थिए । घटनापश्चात् फरार रहेका सजिलाललाई ईलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको संयुक्त प्रहरी टोलीले कडाईका साथ खोजतलास गर्ने क्रममा आज बिहान ५.३० बजे ईलाका प्रहरी कार्यालय रंगेलीसंग समन्वय गरी रंगेली ९ सखुवाथानमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृयाको लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।