बिर्तामोड , साउन ६ । मैथिली समुदायमा पहिलोपटक एकजना छोरीले कोरामा बसेर बुवाको काजक्रिया गरिरहेकी छन् ।

खस समुदायमा छोरीले काजक्रिया गरेको प्रशस्तै उदाहरण भएपनि मैथिली र आदिबासी समुदायमा भने प्रचलनमा आइसकेको थिएन । नेपाली कांग्रेस झापाका आमन्त्रित जिल्ला सदस्य महेन्द्रभूषण साहको निधनपछि उनका जेठी छोरी मनिशाले दिवंगत बुवाको काजक्रिया गरिरहेकी हुन् । बिर्तामोड–४ निवासी साहको ५५ वर्षको उमेरमा उपचारको क्रममा गत असार २८ गते बिएण्डसी अस्पताल बिर्तामोडमा निधन भएको थियो । उनका तीनजना छोरी मात्र छन् । तीनजना छोरीमध्ये जेठी छोरी मनिशा कोरामा बसेकी हुन् । उनी बीएमा अध्ययनरत छिन् । त्यस्तै माइली छोरी निशा बीबीए र कान्छी अन्जली बीबीएसमा पढ्छिन् । छोरीले बुवाको काजक्रिया गर्नुलाई मधेसी समुदायले समाज परिवर्तनको रुपमा लिएको छ । यसलाई आफूहरुले समाज परिवर्तनको उदाहरणको रुपमा लिएको रामेश्वर मण्डलले बताए । उनका अनुसार यसलाई समाजका अरु सदस्यहरुले पनि सकारात्मक रुपमा लिएका छन् । आफ्ना समाजका मानिसहरुले परिस्थिति बुझेर छोरीले बुवाको काजक्रियामा बस्नुलाई सकारात्मक रुपमा लिएको माइली छोरी निशाले बताइन् । उनले राम्रो कुराको अनुशरण गर्नसके मात्र समाज समृद्ध बन्नसक्ने प्रतिक्रिया दिइन् । बुधबार १० आंै दिनको पुण्यतिथिसम्म जेठी छोरी मनिशा कोरामा बसेर चोखिएकी छन् । त्यसपछि उनका काका निन्ठु शाह कोरामा बसेका छन् । यसअघि मधेसी र आदिबासी समुदायमा बुवाआमाको मृत्यु भएमा छोराले काजक्रिया गर्नुपर्ने , छोरा नहुँदा भाइ भतिजा र उनीहरु पनि नभए दशदिने बन्धुले काजक्रिया गर्ने चलन रहेको थियो । तर, छोरीलाई कोरामा बस्न दिने चलन थिएन । मृतक साहकी श्रीमती गीतादेवी रहेकी छन् । यसैबीच आमन्त्रित जिल्ला सदस्य साहको निधनप्रति दुख व्यक्त गर्दै नेपाली काँग्रेस झापाले समवेदना व्यक्त गरेको छ । नवौं दिन मंगलबार संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीको उपस्थितिमा नगर सभापति भोजराज सिटौलालगायतले घरमै पुगेर समवेदना पत्र बुझाएका थिए । त्यस्तै छठ समाज सेवा समितिले पनि समवेदना पत्र बुझाएको छ । दिवंगत साहले मधेसी जनअधिकार फोरमबाट ०६४ सालको संविधानसभा निर्वाचन झापा क्षेत्र नम्बर २ मा चुनाव लडेका थिए । उनी त्यसबेला फोरमको झापा जिल्ला कोषाध्यक्ष थिए। जयप्रकाश (जे.पी.) गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानको केन्द्रीय सदस्य हुँदै चार वर्षअघि उनी कांग्रेसमा प्रवेश गरेका थिए । तेली समाज झापाका अध्यक्ष समेत रहेका उनी बिर्तामोड छठ सेवा समाजका सल्लाहकार हुन् । जुत्ताचप्पल उत्पादन गर्ने सामग्रीको व्यवसाय गर्दै आएका उनी माँलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका ऋण अधिकृत समेत हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्