दमक , साउन ६ ।नेपाली कांग्रेस दमकको नेतृत्वका लागि तीनजनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता स्व. बिश्वेश्वरप्रसाद कोइरालाको ३९ आंै स्मृति दिवसको अवसर पारेर बुधबार दमकस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी तीनजना आकांक्षीले सार्वजनिक रुपमा पार्टी सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । कांग्रेस नगर सभापति रोशन विष्ट, नगर सचिव प्रकाश प्रसाई र नगरका वरिष्ठ सदस्य पर्शुराम रिजालले पार्टीको नगर नेतृत्वमा आ–आफ्नो दावी रहेको घोषणा गरेका हुन् ।

बुधबारको कार्यक्रमको सञ्चालक समेत रहेका प्रसाईंले कार्यक्रम समापन गर्न सभापतिलाई बोलाउनुअघि आफ्नो धारणा राख्दै वर्तमान कार्य समितिमा सचिवमा रहेर काम गरेकाले आगामी महाधिवेशनमा नगर सभापतिमा उठ्ने घोषणा गरे । पार्टी संगठनलाई मजबुुत बनाउने र दमकमा कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो उद्धेश्य रहने प्रसाईंले बताए । आफूले घोषणा गरेका वाचा आगामी कार्यकाल सकिनु एक बर्षअघि नै पूरा गर्ने दावी गर्दै प्रसाईंले भनेअनुसार पार्टी संगठन निर्माण गर्न नसके आगामी दिनमा पार्टीको क्रियाशील कार्यकर्ताको रुपमा मात्रै रहेर आफूलाई दिएको जिम्मेवारी पुरा गर्ने बताए । विगतमा बाणिज्य संघलगायतका संघसंस्थामा रहेर नेतृत्व गरेको अनुभव र पार्टीको नगर सचिवका रुपमा एक कार्यकाल काम गरेको अनुभवले पनि पार्टी संगठन निर्माणमा आफूलाई सहज हुने उनले दावी गरे । त्यसअघि कार्यक्रममा स्वागत मन्तव्य राख्दै बरिष्ठ नगर सदस्य तथा नेपाल विद्यार्थी संघ झापाका पूर्वसभापति समेत रहेका रिजालले पार्टी संगठनलाई बिधि पद्धतिमा सञ्चालन गर्नको लागि आप्mनो उम्मेद्वारी रहने बताए । अघिल्लो महाधिवेशनमा नगर सभापतिमा थोरै मतले मात्रै नपुगेर आफू उपविजेता बन्नु परेको बताउँदै उनले यसपटक सभापतिमा आप्mनो उम्मद्वारी स्वाभाविक रहेको स्पष्ट पारे । आफू सभापति भएमा पार्टीको वडा र टोलसम्मको समितिलाई क्रियाशील बनाई संसदीय निर्वाचनमा पार्टीलाई विजयी गराउने रिजालले दावी गरे ।

त्यसैगरी कार्यक्रमका सभापति समेत रहेका नगर सभापति विष्टले कार्यक्रमको समापन गर्दै अघिल्लो कार्यकालमा सुरु गरेका केही योजना अधुरै रहेकाले पनि थप एक कार्यकाल आफूले नेतृत्व गर्ने ईच्छा गरेको बताए । गत स्थानीय तहको निर्वाचनमा भएको पार्टीको पराजयलाई एक व्यक्तिको टाउकोमा मात्रै लगाउन नमिल्ने बताउँदै विष्टले त्यसपछि भएका अन्य संघसंस्थाको निर्वाचनमा पार्टीले जितेको कुराहरुको पनि मुल्यांकन हुनु पर्ने जिकिर गरे ।

तीनैजनाले आ–आफ्नो उम्मेद्वारी घोषणा गर्दे नेतृत्वका लागि सहमति र सहकार्यमा आफूहरु बाधक नभएको समेत स्पष्ट पारेका थिए । ३ हजार २ सय ९९ जना क्रियाशील सदस्य रहेको दमकमा पार्टी नेतृत्वका लागि मुख्य दावेदार तीनजनाले एकैसाथ आ–आफनो दावी प्रस्तुत गरेका हुन् ।
पार्टीका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासमिति सदस्य सुरेश सुब्बा, संविधानसभा सदस्य विश्वदिप लिङ्देन, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीलगायतले विपी कोइरालाको योगदानको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्