झापा , साउन ६ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका सम्बन्धमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्। उनले बुधबार प्रधानमन्त्री समेत रहेका पार्टी संसदीय दलका नेता शेरबहादुर देउवा समक्ष राजीनामा पत्र बुझाएका हुन् । आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन्। निधिको व्यवहारका कारण प्रदेशमा कांग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको तर्क छ ।
‘मधेसमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनस्र्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’ सिंहले राजीनामा पत्रमा उल्लेख गरेका छन् । सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन्। कांग्रेसमा महाधिवेशन नजिक आइसक्दा पनि क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्