राजगढ , साउन ७ । नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा झापाको बाह्रदशी गाउँसभापति पदका लागि टंक शाह सर्वसम्मत हुने देखिएका छन् ।

उनी हालका सहसभापति हुन् । अहिलेका गाउँ सभापति ओमप्रकाश गौतमले उम्मेद्वारी नदिने भएपछि शाह सभापति बन्ने पक्का जस्तै भएको हो । ‘म फेरि गाउँ सभापतिमा उठ्दिनँ ’ गाउँ सभापति गौतमले भने ,‘ प्रदेशको क्षेत्रीय सभापतिमा उठ्ने मेरो इच्छा छ ।’ उनले बाह्रदशीको नेतृत्व सर्वसम्मत चयन हुने कुरामा आफू विश्वस्त रहेको बताए । गाउँ सभापतिका आकांक्षी शाहले २०४६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए । शुरुमा नेविसंघका सदस्य रहेका उनी पछि नेपाल तरुण दलका गाउँ सभापति भए । नेपाली काँग्रेस विभाजन हुँदा उनी काँग्रेस प्रजातान्त्रिकका गाउँ सभापति भएका थिए । त्यसपछि पार्टी एक हुँदा समेत उनी राजगढको दुई कार्यकाल गाउँ सभापति भएका थिए ।
आफूले गत महाधिवेशनदेखि नै गाउँ सभापति हुने आकांक्षा व्यक्त गर्दै आएको उनले बताए । ‘ मैले नेता कार्यकर्ता माझ मेरो उम्मेद्वारीको बारेमा भनिसकेको छु ’ उनले भने , ‘लगभग औपचारिक घोषणा जस्तै भइसक्यो ।’ यद्यपि पार्टीमा आधिकारिक निर्णय भने भइनसकेको उनले जानकारी दिए । त्यसो त वडा नं ६ का वडा सभापति लेखराज सुवेदीले पनि गाउँ सभापतिको लागि इच्छा व्यक्त गरेका छन् । गाउँ सभापतिमा उठ्ने आफ्नो आकांक्षा रहेको उनले बताए । केही दिनअघि प्रत्यासी शाहले आफ्नो घरमा आएर सहयोग गर्न आव्हान गरेको जनाउँदै उनले पार्टीले चित्त बुझाए आफू उम्मेद्वार नबन्ने बताए । बाह्रदशीमा करिब १३५० जना सक्रिय कार्यकर्ता रहेका छन् ।