मेचीनगर, साउन ७ । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न मेचीनगर नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।
बिहीबार मेचीनगरस्तरीय कोभिड १९ रोकथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकमा नगरप्रमुख विमल आचार्यले पछिल्लो समय कोभिड १९ को संक्रमण र मृत्युदर बढेको भन्दैं नगरवासीलाई जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा पालना र सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेका हुन् ।
प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीसमेत सहभागी बैठकमा समितिका संयोजकसमेत रहेका नगरप्रमुख आचार्यले जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयनतर्फ लाग्नसमेत सुरक्षाकर्मी, विभिन्न संघसंस्था, राजनीतिक दललगायतका प्रमुख प्रतिनिधिहरुलाई आग्रह गरे । पछिल्लो अभिलेख अनुसार कोभिड १९ को दोस्रो लहर शुरु भएयता मेचीनगर नगरपालिकामा मात्रै ३९ जनाको मृत्यु भएको छ । साउन ६ गतेसम्म नगरमा कोरोनाकै कारण १३ महिला र २६ जना पुरुष गरी ३९ जनाको मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड फोकल पर्सन सबिता सापकोटाले जानकारी दिइन् ।
तत्कालै नगरक्षेत्रमा पूर्णरुपमा लकडाउन र सिल गर्ने कुनै योजना नरहेपनि आवश्यक परे नगरपालिकाले नगरमा लकडाउन तथा सिल गर्नसक्ने संकेत उनले बैठकमा दिए । नगरपालिकाका स्वास्थ्यकर्मी, कोभिडका फोकल पर्सन, कोभिड नियन्त्रण र रोकथामका लागि बनेको कार्यदल, सचिवालयलाई नगरका हरेक वडामा कोभिडको अवस्था र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा नगरपालिकालाई जानकारी गराउन भन्दै उनले एम्बुलेन्स, शववाहनलाई तयारी अवस्थामा राख्न समेत सम्बन्धित पक्षलाई निर्देशन दिए । भारतका विभिन्न शहरमा कोभिडको संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन कोभिड नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेश पूर्वीद्वार काँकरभिट्टा नाका हुँदै आवतजावतमा कडाई गर्न पनि नगरप्रमुख आचार्यले जोड दिए ।
बैठकमा कोभिड संक्रमण नियन्त्रणका लागि नगरबाट हालसम्म भएका प्रयासहरुका बारेमा जानकारी गराइएको थियो । कोभिड संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको निषेधाज्ञा बमोजिम स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरुबाट समन्वय सहकार्य गर्ने साथै नगर क्षेत्रमा कोभिड संक्रमण नियन्त्रणका लागि ब्यवस्था मिलाउन सुझाव दिने, सचेतनामूलक प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन अनलाइन संचारमाध्यम, एफ.एम, रेडियोमार्फत तथा माइकिङ गर्ने, वडास्तरीय कोभिड संक्रमण नियन्त्रण समन्वय समितिलाई प्रभावकारी परिचालनको ब्यवस्था मिलाउने, हाल भइरहेको एक्सरे सेवा, एम्बुलेन्स सेवा संचालन तथा संक्रमितहरुलाई औषधी वितरण कार्यलाई थप समन्वय गरी अझ प्रभावकारी बनाउने निर्णय बैठकले गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।
यसैगरी, मेची उद्योग वाणिज्य संघ, सुरक्षा निकायहरुमार्फत कोभिड संक्रमण रोकथाम नियन्त्रणका लागि भइरहेको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने, सामाजिक सुरक्षा भत्ता वितरण, बजार संचालनलगायत अन्य भीडभाड हुने स्थानहरुबाट हुनसक्ने संभावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न गराउन वडा समितिहरुले समन्वय एवं सहजीकरणको ब्यवस्था मिलाउने , नगरको प्रवेश नाकामा थप सतर्कताका उपायहरु कार्यान्वयन गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्ने, कोभिड संक्रमण परीक्षणका लागि भइरहेको एन्टिजेन टेस्ट, पीसीआर परीक्षणको दायरालाई बढाउने ब्यवस्था मिलाउने र कोभिड संक्रमण नियन्त्रणका लागि सबै सरोकावाला पक्षहरुबीच थप प्रभावकारी समन्वय एवम सहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा उपप्रमुख मीना पोखरेल उप्रेतीले सार्वजनिक सभा समारोह, धार्मिक कार्यक्रमलगायत मृत्यु संस्कारमा समेत अनावश्यक भीडभाड नगर्न नगरवासीलाई आग्रह गदैं नगरभित्र साप्ताहिकरुपमा लाग्ने हाट बजार र नगरका मुख्यः व्यापारिक केन्द्र मानिएका बजारहरुलाई व्यवस्थापन गर्नका लागि उद्योग बाणिज्य संघसहित अन्य व्यापारिक प्रतिष्ठानहरुसँग सहकार्य र समन्वय गर्नुपर्ने आवश्यकता औल्याइन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने, मास्क नलगाउनेलाई संक्रमण रोग ऐन बमोजिम कारवाही गर्ने वा कारवाहीका लागि सिफारिस गर्ने, सीमा नाकालाई व्यवस्थित गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने र सीमा नाका वारिपारि गर्न निरुत्साहित गर्नुपर्ने बैठकमा उनले विचार राखिन् ।
नगरपालिकाको तथ्याङ्क अनुसार मेचीनगरको वडा नं. १० मा सबैभन्दा बढी ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । त्यस्तै कोरोनाकै कारण वडा नं. ९ मा ६ जनाको मृत्यु भएको छ भने वडा नं. ६ मा ५ जनाको मृत्यु भएको छ ।
बैठकमा नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष तथा कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन बराल, वडा नम्बर ५ का वडाध्यक्ष योगेन थापा, वडा नम्बर ६ का वडाध्यक्ष ललितकुमार तामाङ,वडा नम्बर १० वडाध्यक्ष सुवेशकुमार पनेरु, वडा नम्बर ११ का वडाध्यक्ष सन्तोष मेचे, कार्यपालिका सदस्य कृष्ण कनाल, स्वास्थ्य शाखा प्रमुख रामनारायण यादव, स्वास्थ्य शाखा कोभिड फोकल पर्सन सविता सापकोटा, मेची उद्योगा बाणिज्य संघका बाणिज्य उपाध्यक्ष कल्याण खड्का, सचिव रविचन्द्र नेपाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा अध्यक्ष कुसुम कोइराला, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिंह दाहाल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईलगायतको सहभागिता रहेको थियो ।




