दमक, साउन ८ ।स्थानीय सरकार नागरिकका समस्यालाई बेवास्ता गर्दै भ्रष्टाचार र कुशासनमा मस्त रहेको भन्दै दमक नगरभित्रका विपक्षी दलहरु त्यसको बिरुद्धमा उत्रिएका छन् ।

नेकपा एमालेको एकलौटी बहुमत रहेको नगरपालिकामा नागरिकका दैनन्दिन समस्या समाधानमा स्थानीय सरकार रमिते बनेको विपक्षी दलहरुले ठहर गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी र संघीय लिम्बुुवान मञ्चसहितका दलहरुले नगरपालिकाबिरुद्ध संगठित भएर खबरदारी गर्ने तयारी गरेका हुन् । माओवादी केन्द्रको नगर समिति कार्यालयमा भएको पाँच पार्टीको भेलाले नगरबासीका समस्याहरुलाई बुँदागत रुपमा छलफल गरी ती समस्या समाधानको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

दलहरुको भेलाले दमक नगरभित्र कोरोना संक्रमण अत्यधिक बढ्नुमा स्थानीय सरकार मातहत रहेको दमक अस्पतालको भीडभाड प्रमुख कारण भएको ठहर गरेको छ । स्वास्थ्य विमाअन्तर्गतका सेवाग्राहीलाई अन्य कुनै अस्पतालमा जान नदिई भीड गरेर लाईन लगाउनाले कोरोनाको जोखिम बढाएको कांग्रेस नगर सभापति रोशन विष्टले दावी गरे । दैनिक ५–६ सय नागरिक एकैठाउँमा जम्मा हुँदा नगरभित्र कोरोना संक्रमण अत्यधिक रुपमा बढेको भन्दै त्यसतर्पm स्थानीय सरकारको ध्यान नगएको विष्टले आरोप लगाए । त्यसैगरी स्थानीय सरकारले विकास निर्माणमा आफ्ना आसेपासेलाई मात्रै पोस्ने काम गरेको भन्दै दमक क्षेत्रमा भएको विकास निर्माणका कामहरुमा आफूहरुसंग कुनै छलफल नगरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङले बताए । एकलौटी रुपमा जनप्रतिनिधिहरुका आफन्तलाई उपभोक्ता समितिमा राखी मनोमानी गरेको भन्दै उनले यसको सशक्त प्रतिकार गर्ने बताए ।

त्यस्तै नगरका सामुदायिक विद्यालयहरुमा पनि काम चलाउ व्यवस्थापन समितिले काम गरिरहेको भन्दै नियमअनुसार अभिभावकको प्रतिनिधित्व हुने गरी व्यवस्थापन समिति गठन गर्नुपर्ने पनि विपक्षी गठबन्धनले माग गरेको छ । नगरका बेथितीबिरुद्ध ध्यानाकर्षण गराउने र त्यसबाट पनि नगरको नेतृत्व नसुध्रिए सशक्त आन्दोलन गर्ने नेकपा माओवादी केन्द्रका नगर सचिव तिर्थराज बस्नेत शंकरले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्