बिर्तामोड , साउन १० । पछिल्लो समय कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएपछि बिर्तामोडमा कडाइका साथ निषेधाज्ञा लागू गरिने भएको छ ।

त्यसका लागि आज दिउँसो नगरपालिकामा सर्वपक्षीय बैठक आव्हान गरिएको र त्यस बैठकमार्फत निर्णय गराई बिर्तामोडमा निषेधाज्ञामा कडाई गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई कसैले पनि नटेरेकाले नगरपालिकाले निषेधाज्ञामा कडाइ गर्न कार्यपालिकासँगै सर्वपक्षीय बैठक बोलाएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनले कोरोना संक्रमण चेनब्रेक गर्न र संक्रमणको आशंका भएकाहरुको परीक्षण गराउन एक हप्तासम्म लकडाउन गर्न आबश्यक देखिएको बताए । बिर्तामोडका १८ प्रतिशतलाई संक्रमण देखिएको उनले जानकारी दिए । बिर्तामोड नगरपालिकाले कडाई गर्न खोज्दै गर्दा केहीले त्यसको विरोध गरेका छन् । लकडाउन गर्दा गुजारा गर्न गाह्रो हुने भन्दै व्यवसायीहरुले त्यसको विरोध गरेको नगर प्रमुख शिवोकोटीले बताए ।

बिर्तामोडमा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको सँख्या ३ हजार ३६३ पुगेको छ । अहिले ५४९ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्