झापा , साउन ११ । कोरोना संक्रमितका वारेमा स्वास्थ्य कार्यालय झापाले दिने गरेको विवरणको सत्यतामाथि प्रश्न चिन्ह खडा भएको छ ।

दैनिक रुपमा सो कार्यालयले प्रकाशित गर्ने गरेको कोरोना संक्रमितको विवरण गलत भएको पुष्टि भएको हो । कार्यालयले हिजो झापामा तीन बालबालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको विवरण प्रकाशित गरेको थियो । स्वास्थ्य कार्यालयले कनकाईकी ३ वर्षिया बालिका , झापा गाउँपालिकाका ५ वर्षिय बालक र मोरङ लेटाङकी ६ वर्षिया बालिकाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरेको थियो । जुन गलत विवरण स्वास्थ्य कार्यालयका कोभिड पर्सन जीवन चौलागाईले आफ्नो फेसबुकमा पोष्ट गरेका थिए । त्यसैलाई आधार मानेर प्रतिदिन दैनिक लगायत विभिन्न संचारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।

तर , कोरोना संक्रमणका कारण बालबालिकाको मृत्यु नभएर कनकाईकी ५७ वर्षिया महिला , झापा गापाका ७६ वर्षिय पुरुष र मोरङ लेटाङकी ३९ वर्षिया महिलाको मृत्यु भएको होे । पछि त्यस विवरणलाई कोभिड पर्सन चौलागाईले सच्याएका थिए । उनले गल्तीबश त्यस्तो विवरण प्रकाशित भएको स्वीकारे । ‘गल्तीले बालबालिका भनेर गएछ ’उनले भने ,‘ पछि त्यसलाई सच्याएका छौं ।’ यसअघि पनि पटक पटक स्वास्थ्य कार्यालयको तथ्यांक विवरणमा त्रुटी भेटिएको छ । जिल्लाका पालिकाहरुले बुझाउने र स्वास्थ्य कार्यालयले प्रकाशित गर्ने विवरण प्रायगरी कहिल्यै मेल खादैन । आफूहरुले सही विवरण पठाएपनि स्वास्थ्य कार्यालयले हचुवाको भरमा तथ्यांक दिने गरेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका एक कर्मचारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्