झापा , साउन १२ । कोरोना संक्रमणको जोखिम बढेपछि पुरै झापा जिल्ला सिल गर्ने तयारी गरिएको छ ।

एकपछि अर्को गर्दै जिल्लाका आधाजति पालिकाहरुले आ–आफ्नो क्षेत्र सिल गर्न थालेपछि पुरै जिल्ला नै सिल गर्ने तयारी थालिएको हो ।
जिल्लाका दमक , बिर्तामोड , कनकाई , बुद्धशान्ति , शिवसताक्षी ,कमल , मेचीनगर , गौरादहले आ–आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरिसकेका छन् ।जसलाई जिल्ला प्रशासन कार्यालयले अनुमोदन गरिसकेको छ । डिसीसीएमसीको बैठकले कोरोनाको जोखिम हेरेर सिल गर्न पाउने अधिकार पालिकाहरुलाई प्रदान गरेको छ । ‘ हामीसँग समन्वय गरेर पालिकाहरुले त्यस्तो निर्णय गरेका छन् ’प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने ,‘ आएका सिफारिसलाई हामीले अनुमोदन गर्ने गरेका छौं ।’ त्यस्तै अन्य पालिकाका केही वडाहरुले पनि सिल गर्ने निर्णय गरेको प्रजिअ तिमिल्सिनाले बताए । उनले जिल्लाका सबै पालिकाका प्रमुखहरुलाई बोलाएर कोरोना संक्रमण रोक्न के गर्न सकिन्छ भनेर छलफल गर्न लागिएको जानकारी दिए । पालिकाका प्रमुखहरुको बैठक साउन १४ गते राखिएको छ । ‘कुन मोडालिटीमा पुरै जिल्लामा बन्दाबन्दी गर्न सकिन्छ त्यसबारे छलफल गरेर निर्णय गर्छौ’उनले भने ।
यसैबीच पूर्वी नाका काँकडभिट्टासँग जोडिएको मेचीनगर नगरपालिका एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणदरमा कमी नआएपछि मंगलवार नगरपालिकामा बसेको कोभिड १९ संक्रमण नियन्त्रण समितिको बैठकले साउन १३ गते मध्यराति १२ बजेदेखि साउन १९ गते मध्यराति १२ बजेसम्म नगरक्षेत्र सिल गर्ने निर्णय गरेको नगरपालिकाकी उपमेयर मिना उप्रेतीले जानकारी दिइन् । बैठकले नगरभित्र सिल अवधिभर अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स, वारुणयन्त्र, औषधी पसल, खोप सेवा, फोहोर मैला व्यवस्थापन, विद्युत् तथा सञ्चारसम्बन्धी सेवा मात्र सञ्चालनमा आउने निर्णय गरेको छ ।
त्यस्तै दूध, अण्डा, फलफूल, तरकारी लगायतका पसल बिहान ६ बजेदेखि ८ बजेसम्म खुला गर्न दिने निर्णय गरेको छ । नगरभित्र कक्षा ११ को परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने छ भने अन्य पसल, व्यवसाय, होटेल, बैङ्क तथा वित्तीय संस्थाहरू समेत पूर्ण रुपमा बन्द राख्ने निर्णय गरेको छ । झापाका १५ पालिकामध्ये ७ पालिकाले सिल गरिएको छ । जिल्लाको बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई, दमक र शिवसताक्षी सिल भइसकेको छ । गौरादह नगरपालिकाले मङ्गलवारबाट र बिर्तामोड नगरपालिकाले बुधवारबाट सिल गर्ने निर्णय गरेको छ ।
त्यस्तै कमल गाउँपालिकामा बुधबारदेखि लकडाउन हुने भएको छ । मंगलबार बसेको राजनीतिक दलहरुसहितको बैठकले संक्रमण बढेसँगै लकडाउन गर्ने निर्णय गरेको हो । साउन १३ गतेदेखि २० गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय भएको हो । औषधी बाहेकका सबै पसल बन्द हुने छन् भने तरकारी गाउँपालिक भित्र होम डेलिभरी गर्न दिइने उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्