कुमरखोद , साउन १३ । भारतसँगको खुल्ला सिमाना र चेतनाको अभावका कारण दक्षिणी समिावर्ती झापा गाउँपालिकामा कोरोना संक्रमण रोकथाममा समस्या देखिएको छ ।

भारत आवतजावत गर्ने गरेका सर्वसाधारणले कोरोना परीक्षण नगराउँदा संक्रमण रोकथाममा समस्या भएको हो । झापा गाउँपालिकामा परीक्षण गराएकामा ३० देखि ५० प्रतिशतलाई संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले १७२७ जनालाई पिसिआर र ७३७ जनालाई एन्टीजेन परीक्षण गराउँदा ३६८ जनालाई संक्रमण पुष्टि भएको छ । झापा गाउँपालिकामा हालसम्म संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ । कोरोनाको लक्षण भएकाहरु समेत परीक्षणका लागि नआउने गरेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । ‘एन्टीजेन टेष्ट गर्न आउनै मान्दैनन् ’उनले भने , जान्ने बुझ्नेहरुले मात्र परीक्षण गराउँछन् ।’ सिमावर्ती झापा गाउँपालिकाका बासिन्दाहरु दैनिक उपभोग्य वस्तु किन्न भारतीय बजार जाने गरेका छन् ।स्थानीयले मास्कसमेत प्रयोग गरेको भेटिदैन । झापा गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका ९ जनाको मृत्यु भएकोमा कोरोनासँग लक्षण मिल्ने अन्यको पनि मृत्यु भएको छ । केही दिनअघि त्यस्तै लक्षण भएका दुईजनाको मृत्यु भएको स्वास्थ्य प्रमुख विश्वकर्माले बताए । ‘लाग्दै निको हुँदै फेरि अर्कोलाई संक्रमण सर्दै गरेको भेटिन्छ’ उनले भने ,‘तर परीक्षण गराउन भने आउँदैनन् ।’ सबै सर्वसाधारणको परीक्षण गराउन सके संक्रमण दर निकै माथि पुग्ने उनको भनाइ छ । झापा गाउँपालिकामा यस पटकको कोरोना खोप शुरु भएको छैन । दुईजना स्वास्थ्यकर्मी संक्रमित भएका कारण कोरोना खोप शुरु हुन नसकेको हो । नियमित खोप चलिरहेकाले र स्वास्थ्यकर्मीहरु संक्रमित भएकाले साउन १६ गतेदेखि मात्र कोरोना खोप लगाउने कार्यक्रम राखिएको स्वास्थ्य प्रमुख विश्वकर्माले जानकारी दिए । यसपटक झापा गाउँपालिकाका लागि १६ सय वटा खोप आएको छ । तर , गाउँपालिकामा ५५ वर्षमाथिका र लक्षित वर्गका गरी २५ सयभन्दा बढी रहेका छन् । पहिलो चरणमा ४४६ र दोस्रो चरणमा ४३१ ज्नाले खोप लगाएका थिए ।
कर्मचारीलाई संक्रमण भएपछि बैंक बन्द
कुमरखोदमा रहेका राष्ट्रिय वाणिज्य बैंकको झापा बजार शाखा करिव दुई सातादेखि बन्द छ । बैंकका कर्मचारीलाई संक्रमण भएपछि सेवा बन्द गरिएको हो । बैंकका ६ जना कर्मचारीमध्ये दुईजनालाई संक्रमण भएको हो । बैंकका प्रबन्धक छत्र पाण्डे र नगद सहायक दिनेश अर्याललाई संक्रमण भएको हो । दुवैले कोरोना खोपको डबल डोज लगाएका थिए । आफूहरुले कोरोनाको दुवै खोप लगाएपनि संक्रमण देखिएको प्रबन्धक पाण्डेले बताए । उनले बिर्तामोड , शिवगञ्ज लगायतका शाखाका कर्मचारीलाई पनि संक्रमण देखिएकाले अन्यत्रबाट जनशक्ति ल्याएर सेवा सुचारु गर्न नसकिरहेको बताए । यति लामो बैंक बन्द हुँदा सेवाग्राहीहरु प्रभावित भएका छन् । त्यस बैंकमा २८ सयबढी ग्राहकको खाता रहेको छ । आफूहरु निको भएपछि सेवा सुचारु गर्ने उनले जानकारी दिए । झापा गाउँपालिकामा स्वास्थ्यकर्मी , शिक्षक , कर्मचारी ,व्यवसायी लगायतगरी सबै संक्रमित देखिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्