इलाम , साउन १४ । इलाम नगरपालिकाले इलाम नगरपालिका वडा नं. ७, ८ र ९ को संगमस्थल साविकको सेल्फीपुल रहेको ठाउँको नाम जनक चोक नामकरण गरेको छ ।

इलाम नगरपालिकाले सो ठाउँको सौन्दर्यीकरणका लागि हिमाल, पहाड, तराई मधेशको राष्ट्रिय अखण्डता तथा एकतालाई झल्काउने गरी राष्ट्रिय विभूति राजा जनकको सालिक स्थापना गर्ने निर्णय गरेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताए ।
राष्ट्रिय विभूति राजा जनक प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा हुन् । प्राचीन राज्य मिथिलाको राजधानी जनकपुर हो । पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता हुन् । जनकलाई विदेह पनि भनिन्छ ।

वंशकै नामबाट राजा जनक प्रसिद्ध भए । जनक वंशका जम्मा ५२ जना राजा भएका थिए । जनक २२ औं सूचीका राजा हुन् ।
राजा जनकको जन्म र मृत्युका विषयमा निश्चित तिथि मिति पाउन सकिँदैन । अनुमानका भरमा ईसा पूर्व ८५० देखि ३८२ सम्मको पौराणिक काललाई उनको जीवन अवधि मानिएको छ । जनकका पुरोहित याज्ञवल्क्य ऋषि थिए । शुक्ल यजुर्वेदमा भागिरथी गङ्गादेखि उत्तर, हिमालयदेखि दक्षिण, गण्डकीदेखि पूर्व, कोशीदेखि पश्चिमको भूभागलाई प्राचीन मिथिला क्षेत्र उल्लेख गरेको पाइन्छ । शुक्ल यजुर्वेद माध्यन्दिन शाखाका मन्त्रद्रष्टा याज्ञवल्क्य हुन । मिथिलाको राजधानी जनकपुर त्यतिबेला दर्शन विद्याको ठूलो केन्द्र थियो ।प्राचीन ग्रन्थ रामायणमा मिथिला र जनकपुरको उल्लेख पाइन्छ ।

राजा जनकको समयमा मिथिला सभ्यताको उत्कृष्ट अवस्थामा थियो । राजा जनक जन्मसिद्ध योगी थिए । उनले कसैबाट ज्ञान सिकेका थिएनन् । उनलाई आत्मज्ञान भएको थियो । उनले ‘सबै मिलेर सँगै बसौं, बाँडीचुँडी खाऔँ, एक भई काम गरौं, शान्ति कायम गरौं, लडाइँ झगडा नगरौ’ भन्ने उपदेश दिन्थे । यी पाँच उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्