बिर्तामोड , साउन १५ । हिजो एकैदिन बिर्तामोडका तीन कोरोना संक्रमितको मृत्यु भयो भने ८४ जना संक्रमित थपिए ।कोरोना संक्रमणको ग्राफलाई हेर्ने हो भने बिर्तामोड कोरोनाको डरलाग्दो हटस्पट बन्दै गएको छ ।

केही दिनदेखि बिर्तामोडमा कोरोना संक्रमणको दर जिल्लाकै उच्च रहेको छ । हिजो बिर्तामोडका ४६ वर्षिय पुरुष , ४३ वर्षिया महिला र ३३ वर्षिया महिलाको मृत्यु भएको हो । त्यसैगरी ४६ जना महिला र ३८ जना पुरुष गरी बिर्तामोडका ८४ जनालाई संक्रमण पुष्टि भएको हो । त्यसको अघिल्लो दिन बुधबार ६१ जनालाई संक्रमण देखिएको थियो । साउन महिनाको ग्राफलाई हेर्ने हो भने बिर्तामोडमा दिनहुँ ५० भन्दा बढीलाई संक्रमण देखिने गरेको छ । जुन बढ्दो क्रममा रहेको छ । बिर्तामोडमा हालसम्म कोरोना संक्रमणका कारण ५७ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको सँख्या ३७०८ पुगेको छ ।ती संक्रमितमध्ये २९३६ जना निको भएका छन् । अहिले ७१६ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ६९७ जना होम आइसोलेसन र १९ जना अस्पतालमा भर्नारत छन् ।

बढ्दो संक्रमण रोक्न बिर्तामोड नगरपालिकाले नगरक्षेत्र सिल गरेको छ । तर, त्यसबाट संक्रमण घट्नुको साटो अझ बढेको देखिन्छ । महामारीको रुपमा फैलिएको कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिएसम्म यसलाई नियन्त्रण गर्न गाह्रो हुने नगरपालिकाका सिनियर अहेव दीपक सापकोटा बताउँछन् । ‘यति धेरै क्षति हुँदासम्म मानिसहरुले चेतेको पाइदैन’उनले भने ,‘संक्रमणप्रति पूर्णरुपमा सावधानी नअपनाएसम्म संक्रमण रोकिदैन ।’

त्यसो त जिल्लाको संक्रमण दर पनि उच्च रहेको छ । देशकै उच्च जोखिममा रहेको झापामा हिजो एकैदिन ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिर्तामोडका ३ सहित दमकका ६४ वर्षिय पुरुष , ६३ वर्षिय महिला र कनकाईका ३९ वर्षिय पुरुषको मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४४३ पुगेको छ ।

यसैबीच हिजो जिल्लाका २९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिर्तामोडका ४६ महिलासहित ८४ जना , दमकका ३४ महिलासहित ७५ जना , गौरादहका एक महिला , मेचीनगरका १२ महिलासहित ३२ जना , भद्रपुरका ११ महिलासहित १६ जना , कनकाईका १४ महिलासहित २४ जना , हल्दिबारीका एक पुरुष , अर्जुनधाराका ११ महिला , ११ पुरुष ,बुद्धशान्तिका ४ महिलासहित १६ जना ,कचनकवलका एक महिला , कमलका एक महिलासहित ३ जना , शिवसताक्षीका ८ महिलासहित १३ जना , बाह्रदशीका एक महिलासहित ३ जना , झापा गापाका २ पुरुष र ठेगाना नखुलेका ४ पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कूल संक्रमितको सँख्या २१ हजार ९१९ पुगेको छ । त्यसमध्ये १५ हजार १६२ जना डिस्चार्ज भएका छन् । झापाका विभिन्न आइसोलेसनमा ३ हजार ३४१ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्