जीवन अनुत्तरित प्रश्नको सँगालो , जन्म र मृत्युबीचको रहस्य जसलाई हामी स्वयम् हरक्षण बुझ्ने कोसिस गर्दछौ तर, सकिरहेका हुँदैनौ । रहस्य नै रहस्यले भरिपूर्ण यस्तो एउटा प्रकृति जसको न कुनै सुरुवात न कुनै अन्त्य । यो भन्न सकिन्छ कि प्रकृति र जीवनको यही कन्फ्युजन नै नियति हो । यहाँ हजारौ–हजार प्रश्नको केबल प्रश्न एउटै ‘अनुत्तरित’ । सायद यही प्रश्नको उत्तर नै अनुत्तरित यानिकी हाम्रो कल्पना शक्ति सबै काल्पनिक ।
हामी मानवलाई लाग्छ बैज्ञानिक प्रयोग र परीक्षणद्वारा स्वचालित प्राकृतिक नियमलाई बुझेका छौ । ब्रह्माण्डका प्रत्येक रहस्यको उजागर गरेका छौ । तर जब–जब हामी जति–जति प्रयोग र परीक्षण गर्दछौ, त्यति–त्यति भौतिक सफलता प्राप्त गर्दै जान्छांै । तर, बिडम्वना हाम्रो त्यहीँ प्रयोग, परीक्षणबाट फेरि एउटा यस्तो रहस्य सृजना हुन्छ, जसलाई बुझ्न अरु हजारौ प्रयोग र परीक्षण आवश्यक हुन आउँछ । जसको नतिजा हामी एउटा रहस्यमयताको उजागर गर्दा अरु हजारौ रहस्य हामीमाझ सृजना हुन्छन् ।
हामी ब्रह्माण्डको यही रहस्यमयताको उत्तर कल्पना शक्तिमा खोजिरहेका हुन्छौ र काल्पनिक उत्तरको माध्यमद्वारा विजेताको स्वाङ रच्दछांै ।
मानव समुदायको इतिहास , एउटा सोचनीय बिषय त के छ भने हामी सबै समयको गतिभन्दा पछि छांै या यसको परिधिभन्दा बाहिर ?हाम्रो सजिव इतिहास हेर्ने हो भने खासै लामो छैन । जति हाम्रो पौराणिक ग्रन्थमालामा उल्लेख गरेको पाइन्छ । अहिलेको ब्रह्माण्डीय शास्त्रलाई ब्याख्या गर्ने हो भने भौतिक विज्ञानका जति पनि रहस्य छन् , ती सबैको उत्तर कल्पना शक्तिमा केन्द्रीत गरेको पाईन्छ ।अथवा भनौ बिज्ञानले दिन नसकेको उत्तर कल्पना शक्तिले दिन्छ ।
के साँच्चै बिज्ञान नै रहस्यको श्रोत हो त ? अहिलेको आधुनिक विश्वसम्म आइपुग्दा पनि किन प्राकृतिक रहस्यमयताको उजागर बिज्ञानले गर्न सकेको छैन ? अहिलेको हाम्रो महत्वपूर्ण उपलब्धिमध्येको कृतिम मानव पनि हो । जसको प्रोग्रामिङ हामी स्वयम्ले गरेका छौ तर, यहाँ अर्को रहस्य त के छ भने यो हाम्रो प्रकृतिको प्रोग्रामिङ चाहिँ कसले गरेको छ ?
यी सबै वस्तुगत तथ्य र तथ्यांकलाई बुझ्ने हो भने हामी पनि कतै न कतैबाट अबश्य नियन्त्रित छौ ? कल्पना , भ्रम र यथार्थबीचको फरक । वास्तवमा हो चाहिँ के ? आखिर परम सत्य चाहिँ के ?
सबै वस्तुहरु त प्रकृतिबाट नै प्राप्त छ । न कुनै हामीले बनायौं न कुनै वस्तको अस्तित्व समाप्त नै गर्न सक्छौ । आखिर हामीले गर्यौं चाहिँ के मात्र स्वरुपमा फेरबदल ।

हामी मानव ब्रह्माण्डको उत्कृष्ट प्रजाति सर्वशक्तिमान अनि बुद्धिमान पनि हामीले यो कुरा बुझ्न सकेका छैनांै कि बुझ्ने प्रयत्न नै गरिरहेका छैनांै । सायदै यसकै परिणाम होला कयौं रहस्य रहस्यमै सीमित छन् ,जसका उजागर सायदै नहोला ।
कतिपय दार्शनिक मतलाई ब्रह्माण्डको रहस्य बुझ्न प्रयोग गर्ने हो भने पनि हाम्रो इतिहास विभिन्न कालखण्डका फरक– फरक मतलाई बुझ्नु पर्ने हुन आउँछ ।धार्मिक दृष्टिकोणसहितको दार्शनिक अवधारणा नै यस पृथ्वीको सजिव मानव इतिहास अनि प्राकृतिक रहस्यमयताको उजागर गर्नमा प्रयोग गरियो भने अन्यथा नहोला ।
लाखौं वर्ष लामो रहस्यमयी प्रकृति या भनौं अनन्तदेखि अनन्तसम्म नै स्वचालित समयको गतिको मापन पनि हाम्रा लागि चुनौतीको विषय बनेको छ । नयाँ भौतिक विकास बैज्ञानिक उपलब्धिको पुनरब्याख्याले समयको गतिलाई कुन हदसम्म बुझ्न कोसिस गरेको छ यो नै अहिलेको सबैभन्दा रहस्य बनेको छ ।
यो शताब्दीकै महान भौतिकशास्त्री भनेर चिनिएका स्टफन हकिङ्स जसले समयको गति वा परिधिलाई एउटा गम्भीर रहस्यसित जोड्दै welcome time travellersपार्टी राख्नाले पनि समय गतिको रहस्यमयतालाई अझ रहस्यमयी बनाएको छ ।

हकिङ्स मात्र नभएर अन्य भौतिक विकासका ज्ञाता जसका बैज्ञानिक आविष्कारले बुझ्ने र बुझाउने परम्परागत प्रक्रियामाथि नै प्रश्नचिन्ह खडा गर्दै नयाँ आयामको विकासमा जोड दियो या विकासको गति नै परिवर्तन गरिदियो । यसबाट पनि प्राकृतिक रहस्यमयतालाई नयाँ मोड मिलेको छ ।
अर्कोतर्फ हाम्रो अहिलेसम्मका महानतम् भौतिक विकासका उपलब्धिलाई अनन्त ब्रह्माण्डको प्राकृतिक नियम बुझ्न प्रयोग गर्ने हो भने जसको उपलब्धि लगभग शून्य हुन आउँछ ।
अहिलेसम्म हामीले प्रस्तुत गरेका तमाम् तथ्य जुन धेरै हदसम्म प्रमाणिक पनि छन् । के ती तथ्यहरु जीवन र मृत्युको रहस्यलाई बुझ्न पर्याप्त छन् त ? सामान्य बुझाइको अर्थलाई मान्ने हो भन्ने यो प्रकृति अनि यसको रहस्यमयता अति नै सरल लाग्न सक्ला । जसका हरेक प्रश्नको उत्तर अहिलेसम्मका भौतिक खोजबाट सजिलै प्राप्त गर्न सकिन्छ ।
यो पनि भन्न सकिन्छ कि मृत्यु र जन्म सबै प्राकृतिक नै हुन् । बिज्ञानले यसलाई पूर्णतया पुष्टि गरिसकेको छ । तर, प्रश्न कोरा विश्लेषणको कदापि होइन । बुझ्नै नसकिएको एउटा अनन्त प्राकृतिक ब्रह्माण्डीय रहस्यताको हो ।
वास्तवमा प्रत्येक अनुत्तरित प्रश्नको स्रोत नै प्रकृति हो । निश्चिततापूर्वक यो भन्न सकिन्छ कि जुन भ्रमलाई हामी शाश्वत सत्यको रुपमा ग्रहण गरिरहेका छौ, त्यही नै वास्तविकतामा अनन्त भ्रमको सुरुवात हो । हामी जे महसुस गरिराखेका छौ, जे बुझिराखेका छौ त्यो नै भ्रम हो ।
फेरि जुन कुरा पूरापुरी भ्रम हो, त्यो नै प्राकृतिक सत्य हो । आखिर प्रकृति किन भ्रम हो र भ्रम नै सत्य हो , फेरि पनि प्राकृतिक नियम नै पूरापुर सत्य हो । सत्य, भ्रम अनि प्रकृति यानिकी हाम्रो कल्पना शक्ति हामी सबै काल्पनिक । भौतिक बिज्ञानका प्रत्येक खोज नै काल्पनिक यानिकी मूलभुत सत्य नै काल्पनिक !

2 वटा प्रतिक्रिया

  1. यसैकारण पनि परब्रम्हसंग पुरूषलाई संयोजन गरेर निकास खोजीएको छ पुर्वीय आस्तिक दर्शनमा। राम्रो लेख।

  2. The mysterious journey to eternal consciousness comes to conclusion only after rhythmic harmony of ultimate truths

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्