भद्रपुर, साउन १६ । झापाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकाले आज मध्यरातिबाट नगरक्षेत्रमा अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ ।

जिल्ला कोभिड १९ व्यवस्थापन समिति झापाको साउन १४ गतेको निर्णय अनुसार भद्रपुर नगरप्रशासनले नगरक्षेत्रमा अत्यावश्यक बाहेका सवै सेवाहरू साउन २३ गते मध्यरातिसम्मका लागि स्थगित गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार नगरभित्रका सवै वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सवै सेवा पूर्णरूपमा बन्द रहने छन् भने विभिन्न शाखा र मातहतका निकायका सेवा पनि साउन २३ गतेसम्मका लागि बन्द गरिएका हुन् ।
झापामा कोभिड १९ का विरामीको संख्याले उच्च गति लिएको ठहर गर्दै एक हप्ताका लागि आज मध्यरातिबाट २३ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरिसकेको छ ।
दोस्रो लहरअन्तर्गत झापाभित्र समुदाय स्तरमा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि नियन्त्रणको प्रयासस्वरूप जिल्ला कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय झापाले आज मध्यरातबाट लागू हुनेगरी पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको हो ।
आज मध्यरातिदेखि साउन २३ गते मध्यरातिसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा विहिवार जारी आदेशमा उल्लेख छ । निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै यातायात र व्यापार व्यवसाय समेत बन्द गरिएको छ । यसअघि खुकुलो निषेधाज्ञा कायम थियो ।
कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि जिल्ला कोभिड १९ व्यवस्थापन समितिको सिफारिसमा प्रजिअ तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्