बिर्तामोड ,साउन १६ । झापाका राजनीतिक दलका प्रमुखहरुले कोरोनाविरुद्धको खोप लुकाउने बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्का र स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेलाई निलम्बन गर्न माग गरेका छन् ।

एक होटलमा कोरोनाविरुद्धको खोप लुकाएको घटनालाई लिएर आज बिर्तामोडमा बसेको झापाका पाँच राजनीतिक दलको बैठकले बिर्तामोड नगरपालिकाको खोप अनियमिततासम्बन्धी घटनाका दोषीलाई तत्काल सेवाबाट निलम्बन गरेर घटनाको अध्ययन अनुसन्धान र कारबाही गर्न माग गरेको हो । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका सचिव मणिकुमार राई, जनता समाजवादी पार्टीका झापा अध्यक्ष, दिपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष केशव ओझा, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष सन्तोषकुमार राईले संयुक्त प्रेस विज्ञप्तिमा सर्वसाधारणले खोप लगाउन नपाउने तर होटलमा लुकाएर राखेको उक्त निन्दनीय ,अमानबीय र अक्षम्य घटनाप्रति खेद व्यक्त गर्दै कारबाहीको माग गरिएको हो ।

घटनाको सत्यतथ्य बाहिर नआएसम्म स्वास्थ्य कार्यालय झापाका प्रमुख घिमिरे र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको कोरोना फोकल पर्सन एवं खोप काण्डमा संलग्न आरोपी खड्कालाई निलम्बन गर्न विज्ञप्तिमार्फत जोडदार माग गरिएको हो ।
‘तत्काल स्वास्थसेवा बाहेकका ब्यक्तित्वको सहभागितामा उच्चस्तरीय छानबिन समिति बनाएर झापामा खोप सञ्चालनका क्रममा भएका विकृति विसंगति र अनियमितताको अनुसन्धान गरेर दोषीमाथी कडा कानुनी कारबाही गर्न डिसीसीएमसीका अध्यक्षसँग जोडदार माग गर्दछौं ’–पाँच दलद्वारा विज्ञप्तिमा भनिएको छ– ‘होटलमा खोपसहित पक्राउ परेका र होटलमा खोप ल्याइएको विषयमा विरोधाभाषपूर्ण अभिब्यक्ति दिएका विर्तामोडका औषधि ब्यवसायी समेत रहेका खड्कालाई घटनाको छानविन पूरा नभई छाडिनुले थप शंका उत्पन्न गराएको छ । आरोपितलाई तत्काल नियन्त्रणमा लिई शंकास्पद ब्यक्तिहरुको कल डिटेलसमेतको आधारमा अनुसन्धान अगाडि बढाउन र दोषीउपर कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौं ।’

कोरोना महामारीबाट आममानिस प्रभावित रहेको र झापा जिल्ला यसको उच्च जोखिममा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘स्वास्थ्य कार्यालय जस्तो संवेदनशील सरकारी निकायबाटै अनियमित र गैरजिम्मेवारीपूर्ण कार्य हुनु अत्यन्तै दुःखद् बिषय हो । कोरोनाको खोप लिनका लागि आममानिसहरु टन्टलापुर घाम ,झरी वर्षा सहेर बिहानैदेखि लाइनमा बस्नुपर्ने अवस्था एकातिर रहनु र खोपसहित जिम्मेवार कर्मचारी होटलमा भेटिनु र अनेक बहानाबाजी गरेर घटनालाइ ढाकछोप गर्ने प्रयास किमार्थ पनि स्वीकार्य नहुने ब्यहोरा सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं । ’
खोप लगाउनका लागि लाइनमा बसेका नागरिकलाई खोप सकिएको सूचना दिएलगत्तै विर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन खड्का खोपसहित होटलमा भेटिनु संयोग मात्रै हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा खोपमा अनियमितता गर्नु र आमलक्षित समुदायलाई खोपबाट बञ्चित गर्न खोजिएको व्यबहारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘यो अमानवीय व्यवहारमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं’–विज्ञप्तिमा भनिएको छ–‘स्वास्थ्यसेवा बाहेकका ब्यक्तित्वको सहभागितामा उच्चस्तरीय छानबिन समिति बनाएर झापामा खोप सञ्चालनका क्रममा भएका विकृति विसंगति र अनियमितताको अनुसन्धान गरेर दोषीमाथि कडा कानुनी कारबाही गर्न डिसीसीएमसीका अध्यक्षसँग जोडदार माग गर्दछौं ।’
विर्तामोडको खोप काण्डलगत्तै दलीय संयन्त्रले छानविनको माग गरेपनि प्रमुख जिल्ला अधिकारीलाई सचेत गराइएपनि प्रजिअकै निर्देशनमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले कार्यालयकै कर्मचारीको नेतृत्वमा छानविन समिति गठन गरेर आरोपीलाई उन्मुक्ति दिएको समाचार बाहिर आउनुले खोप लुकाउने कार्यालयमा स्वास्थ्य कार्यालय प्रमुखकै संलग्नता पुष्टि हुने विज्ञप्तिमा उल्लेख छ ।‘जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले केही दिनयता सञ्चारमाध्यममा प्रयोग गरेका विरोधाभाषपूर्ण भाषाहरु अत्यन्तै अशोभनीय र निन्दनीय छन्’–विज्ञप्तिमा भनिएको छ– ‘यस प्रकारको बोलीबचन र व्यबहार एक राष्ट्रसेवक कर्मचारीका लागि किमार्थ पनि शोभनीय हुँदैन र उहाँ स्वयं यो घटनाको परिपोषकको रुपमा रहेको प्रमाण पनि हो भन्ने कुरा अब द्विविधा रहेन ।’
बिर्तामोडमा अहिलेसम्म लगाइएको खोपको नामावली तत्काल सार्बजनिक गर्न ध्यानाकर्षण गराइएको विज्ञप्तिमा अब उपरान्त जिल्ला र पालिकामा भण्डारण गरेको खोप गोदामबाट निकाल्दा दैनिक प्रहरीसहितको मुचुल्का गर्न, कुन कुन केन्द्रमा कुन कुन ब्यक्तिमार्फत खोप पठाइयो ? कति कति लगाइयो ? कति खोप बचेको छ ? दैनिक सार्वजनिक गर्ने सूचना संयन्त्रको विकास गर्न माग गरिएको छ ।

खोप केन्द्रमा सर्वपक्षीय बैठक गर्ने, सबैको बिश्वास जित्ने तथा सामाजिक सद्भाव कायम गर्नेतर्फ सम्बन्धित पालिका र सरोकारवालाको ध्यानाकर्षण गराउँदै, डिसीसीएमसीलाई थप सचेत रहन अनुगमन गर्न र स्वास्थ्य कार्यालयको गतिविधि सुक्ष्म रुपले निगरानी गर्नका लागि अनुरोध गरिएको विज्ञप्तिमा ‘सरकारले जुन समुदायलाई लक्षित गरेर खोप पठाएको हो, सोही समुदायमा खोप केन्द्रित गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछौं’ भनिएको छ । पाँच दलका प्रतिनिधिले खोपमा भएको अनियमितताका विषयमा जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसीसीएमसी) का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगेर ध्यानाकर्षण समेत गराएका छन् ।

यसैबीच नेपाल विद्यार्थी संघ झापा र अखिल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त विज्ञप्ति जारी गर्दै होटलमा खोप भेटिएको काण्डले बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको चरम लापरबाही र हेलचेक्रयाई पुष्टी गरेको उल्लेख गरेका छन् ।
संघका सभापति राजेन्द्र उप्रेती र अखिलका अध्यक्ष अनिल सुवेदीले संयुक्त विज्ञप्ति जारी गर्दै र नगरबासीहरुको स्वास्थ्यप्रति नगरपालिकाको अनुत्तरदायी प्रवृत्ति स्पष्ट भएको उल्लेख गर्दै विज्ञप्तिमा तीनसूत्रीय माग अघि सारिएको छ । बिर्तामोड नगरपालिकामा हालसम्म लगाइएको खोपको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने, उच्चस्तरीय छानविन समिति गठन गरी घटनाको छानविन गर्न र नगरपालिकाका कोभिड फोकल पर्सन खड्कालाई बर्खास्तसहितको कारबाही गर्न माग गरिएको छ ।
बिर्तामोडको देवी मावि र महेन्द्ररत्न माविमा लाइनमा बसेका सर्वसाधारणलाई खोप सकिएको जानकारी दिएपश्चात बिर्तामोडको होटल टाइमलेस पार्टी प्यालेसमा खोपसहित बिर्तामोड नगरपालिकाका फोकल पर्सन खड्का खोपसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्