झापा , साउन १६ । बिर्तामोडको होटेलमा कोरोनाविरुद्धको खोप भेटिएको घटनाका विषयमा छानबिन गर्न झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा समन्वय समिति झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डिएसपी प्रेम प्रसाईँ र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् । गठित समितिले बिर्तामोड नगरपालिकास्थित टाइमलेस मोमेन्ट होटेलमा कोभिड– १९ विरुद्धको खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन खडका शंकास्पद अवस्थामा फेला परेको सम्बन्धमा सात दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए।

साथै छानबिन नटुंगिदासम्म फोकल पर्सन खडकालाई खोपसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गर्ने, हालसम्मको कोभिड– १९ विरुद्धको खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य कार्यालय झापालाई निर्देशन दिने र पेट्रोल पम्पहरूमा काम गर्ने ३०० जना कामदारलाई चारआली डिपोमा गई खोप (जोनसोन) लगाउने व्यवस्था स्वास्थ्य कार्यालय झापाले मिलाउने बैठकले निर्णय समेत गरेको उनले बताए।
बैठकमा नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजङ्ग थापा, प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराई, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डे, अनुसन्धान कार्यालय झापाका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईँ, मेची अस्पतालका मेसु डा टंकप्रसाद बाह्रकोटी, समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख योगराज घिमिरेलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्