झापा , साउन १६ । भारतीय सुरक्षाकर्मीको हस्तक्षेपविरुद्ध पूर्वी नाका काँकडभिट्टामा नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाले शनिवार विरोध प्रदर्शन गरेको छ ।

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदी खसेर बेपत्ता पारिएको घटनाको विरोधमा विप्लव कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

विप्लव नेकपाका कार्यकर्ताहरूले ‘जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपालीमाथि भएको हत्या हिंसा बन्द गर , वैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाती एमसीसी सम्झौता मुर्दावाद’ लगायतका नाराबाजी गरेका थिए । मेचीनगर नगरपालिका ६ स्थित देवकोटा पार्क नजिकैबाट सुरु गरिएको विरोध ¥याली काँकडभिट्टा बसपार्क, भट्टराई चोक हुँदै बजार परिक्रमा गरेर हनुमान मन्दिर अगाडी आएर कोणसभा परिणत भएको थियो । कोणसभा बोल्दै नेकपाका जिल्ला सचिव प्रशान्तले अव्यवस्थित राज्यसत्ता र संसदीय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो वैज्ञानिक समाजवादतर्फ हुनुपर्नेमा जोड दिए । भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा नेपालीलाई सहन नहुने उनको भनाई छ । अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज सञ्जय राईले हत्या हिंसा, भ्रष्टाचार, बेथिति, अन्याय, अत्याचार पार्टीलाई सहन नहुने भन्दै त्यसको विरूद्व जहिले जहाँ र जुनसुकै परिस्थितिमा सशक्त संघर्ष र प्रतिकारमा उत्रने चेतावनी दिए ।

पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूको नेतृत्व विरोध प्रदर्शन भएको थियो । नेकपाले साउन १८ गते दमकमा पुनः प्रदर्शन गर्ने जानकारी दिएको छ । दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा तुइन तरिरहेका ३३ वर्षीय धामीलाई भारतीय एसएसबीले तुइन काटेर नदीमा खसालिदिएका थिए । उनी अझै बेपत्ता छन् । उनी ब्यास गाउँपालिकाबाट भारतको बाटो हुँदै दार्चुलाको सदरमुकाम खलङ्गा आइरहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्