मेचीनगर, साउन १७ । मेचीनगर नगरपालिकाले विभिन्न कृषियन्त्र वितरण गरेको छ ।

नगरपालिकाले आइतबार एक कार्यक्रम गरी विभिन्न कृषक, कृषि फार्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु वितरण गरेको हो । नगरपालिकाले ४० लाख ५२ हजार ८ सय रुपैयाँको आधुनिक कृषियन्त्र किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । नगरपालिकाका १५ वटै वडालाई यो कार्यक्रमले समेटेको छ । कृषक, समूह, फार्म र सहकारी गरी ९८ वटा छनोट भएपनि अनुदान प्राप्त गर्नेको संख्या ६८ रहेको छ । कार्यक्रममा उनीहरुलाई हाते ट्रयाक्टर २७, कुटि काट्ने मेशिन ४७, मकै गोड्ने मेशिन ६ , व्हील व्यारो १२ तथा धान काट्ने मेशिन र साइलेज कटर एक÷एकवटा वितरण गरिएको हो । नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यसतर्फ नगरपालिकाले कदम चालेको बताए । कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानलाई प्रत्यक्ष अनुदानको व्यवस्था गरेको उनले जानकारी दिए ।

। नगर प्रमुख आचार्यले बेरोजगारीको समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा सरकारले राखेको र आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवाले स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने बिश्वास व्यक्त गरे । उनले कृषि उत्पादन वृद्धि गर्न रासायनिक मललाई प्रतिस्थापित गरी प्रांगारिक मलको प्रयोग बढाउन विशेष योजनाका साथ कार्य भइरहेको जानकारी दिए । आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवम् गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताइन् । अब कृषि पेशालाई प्रोत्साहन गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र व्यवस्थित गर्न राज्यले निरन्तर रूपमा योजना तर्जुमा गर्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । कृषि क्षेत्रमा व्यवस्थित गर्न कार्ययोजनासहित बजेट व्यवस्थापन गरेको उपप्रमुख उप्रेतीले बताइन् ।

यसबाट नगरका धेरै कृषकहरु लाभान्वित भएको नगरपालिकाका कृषि प्राविधिक टेकेन्द्र प्रधानले जानकारी दिए । परम्परागत हलगोरुबाट खेतीपाति गर्दै आएका नगरका किसानहरूले कृषि मजदुरको अभाव भएपछि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाति गर्न थालेका छन् । कृषि मजदुर र खेताला पाउन छाडेपछि किसानहरूले खेतबारी जोताउन पावर टिलर, हाते ट्रयाक्टर, धान रोपाइँ मेसिनदेखि बाली भित्र्याउनसमेत कृषि उपकरणकै प्रयोग गर्न थालेको नगरपालिकाका कृषि प्राविधिक कविता पौडेलले जानकारी दिइन् । कृषि उपकरण प्रयोग गर्न थालेपछि खेतीपातिका लागि आफूहरुलाई सहज पनि भएको तथा उब्जाएको बाली व्यवस्थापन गर्न कडा परिश्रम र समयको पनि बचत भएको कृषकहरुको भनाई छ ।
पछिल्लो समय खेत जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छर्ने, रोप्ने, दाइँ हाल्ने, बाली निफन्नेजस्ता थुप्रै काममा आधुनिक कृषियन्त्रको प्रयोग भइरहेको किसानहरू बताउँछन् । यसकारण पछिल्लो समय किसानहरुको कृषियन्त्रतर्फ आकर्षण बढ्दो छ । कृषियन्त्रको प्रयोगले समय र श्रमको बचत हुने भएकाले पनि कृषियन्त्रतर्फ आकर्षित भएको उनीहरू बताउँछन् ।

गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएपछि खेताला पाउन मुश्किल हुने गरेको किसानहरू बताउँछन् । त्यसैकारण पनि कृषि उपकरण आफ्नो रहर मात्रै नभइ बाध्यता पनि भएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्