बिर्तामोड , साउन १७ । उद्योगी व्यवसायीहरूको टोलीले तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर खोपमा व्यवसायीलाई प्राथमिकता दिन माग गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीहरुलाई प्राथमिकतामा राखेर सरकारले खोप अभियान सञ्चालन गर्न आनाकानी गरिरहेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराइएको जानकारी दिए । प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल नेतृत्वको टोलीले तत्काल व्यवसायीहरुले खोप पाउनुपर्ने माग प्रमुख जिल्ला अधिकारी समक्ष राखेको थियो ।

यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले कोरोना खोप लुकाइएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।
बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै संघले त्यस्तो माग गरेको हो । कोरोना भाइरसको संक्रमण दर र मृत्यु दर दिनानुदिन बढिरहेका बेला सरकारले खोप दिनु भनेर तोकेको समूह दिनभर जोखिम मोलेर भीडभाड र घाममा बस्नु परेको तर विभिन्न बहानामा खोप होटलमा लुकाईछिपाई राखेको घटनाले गम्भीर प्रश्न उठाएको अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ– होटलमा खोप लुकाइएको घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न, फोकल पर्सन ओम खड्कासहित संलग्न सबैलाई कारबाही गर्न हामी तीनै तहका सरकार र स्थानीय प्रशासनसमक्ष जोडदार माग गर्दछौं । साथै यो घटनासंगै खोप कार्यक्रमबारे गम्भीर चासो लिई खबरदारी गर्न उद्योगी ब्यवसायी, आम नागरिक, राजनीतिक दल, अधिकारकर्मी, सञ्चारकर्मी सबैमा अपिल गर्दछौं ।

वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले वास्तविकता उजागर नभए, दोषीलाई कारबाही नभए बिर्तामोड उद्योग वाणिज्य संघ सशक्त खबरदारीमा उत्रने चेतावनी दिए । सबै नागरिकलाई यथाशिघ्र खोप उपलब्ध गराउनका साथै खोप कार्यक्रम पारदर्शी र ब्यवस्थित रुपमा सञ्चालन गर्न तथा अनियमितता गर्ने ब्यक्तिलाई तत्काल निलम्बन गरी सहयोग गर्ने अन्य ब्यक्तिलाई समेत कडा कारबाही गर्न संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईले माग गरे । कार्यक्रममा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, जीवन खड्कालगायतले बोलेका थिए ।

त्यसैगरी नेकपा एमाले बिर्तामोड नगर कमिटीले शुक्रबार बिर्तामोडस्थित टाइमलेस मोमेन्ट होटलमा फेला परेको कोरोनाविरुद्धको खोपको वास्तविकता सार्वजनिक गर्न माग गरेको छ ।
बिर्तामोड नगर कमिटी अध्यक्ष उमानाथ ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– स्वास्थ्यजस्तो संवेदनशील विषयमा कसैबाट पनि अनियमितता भएको भए त्यो क्षम्य हुँदैन । समस्याको तथ्यपरक र सही अनुसन्धान गरी यथार्थ तत्काल सार्वजनिक गर्न पनि एमालेले माग गरेको छ ।
बिर्तामोड नगरपालिकामा हालसम्म लगाइएको खोपको विवरण तत्काल सार्वजनिक गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्