बिर्तामोड , साउन १८ । नरिवलको बोटबाट झरेर सख्त घाइते भएका झापा बाह्रदशी ५ घोडामाराका ५१ वर्षिय नारदप्रसाद रिजाल यतिखेर उपचारको अभावमा छटपटाइरहेका छन् ।

नरिवलको रुखबाट लडेर गर्धन र ढाँडको मेरुदण्ड भाच्चिएर थला परेका रिजाललाई खर्चको अभाव भएको हो । अभिभावक रिजाल थला परेपछि उपचार खर्च जुटाउन नसकेर रिजाल परिवार समस्यामा छन् । रिजाल रुखबाट लडेपछि बिर्तामोडको विएण्डसी र बिराटनगरको न्यूरो अस्पतालमा लगेर परीक्षण गराउँदा ४० देखि ४५ लाख रुपैयाँ खर्च लाग्ने बताएको आफन्त चन्द्रमणि ढुङ्गानाले बताए । आर्थिक अवस्था अति कमजोर भएका रिजाल परिवारले उक्त रकम जुटाउन नसकेपछि घाइतेलाई घरमै राखिएको छ । रिजालको नाममा ५ कठ्ठा जग्गा मात्र छ । ७ जनाको परिवार उनले पाखुरा चलाएर पाल्दै आएका थिए । उनी आफै नै थला परेपछि परिवारको बिजोग भएको ढुंगानाले बताए ।
घाइते रिजालकी श्रीमती डम्बादेवीले श्रीमानको उपचारमा सहयोग पुर्याइदिन सबैसमक्ष अपिल गरेकी छन् । जनमन गरेर परिवार पालनपोषण गर्दै आएका रिजाल घाइते भएपछि परिवार विचल्लीमा परेको उनकी श्रीमती डम्बादेवीले बताइन् । रिजालको उपचारको लागि बिर्तामोड–४ को गंगामाया नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले रिजाल बचाउ अभियान सञ्चालन गर्ने अध्यक्ष भूपाल बस्नेतले बताए । रिजाल निवासमा सोमबार पत्रकार सम्मेलन गरी उक्त अभियानबारे अध्यक्ष बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले रिजाल बचाउ अभियानमा मूल समिति र विभिन्न उपसमिति निर्माण गर्दै आर्थिक संकलन गरिने बताए । उनले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा रिजालको उपचार गरिने जानकारी दिए । कार्यक्रममा बाह्रदशी गाउँपालिका –५ का अध्यक्ष भुपेन्द्र कट्वाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति नविन विमली, स्थानीय गुरुप्रसाद घिमिरे, झमलाल पौडेललगायतले रिजाललाई बचाउन सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । साउन ९ गते साँझ नरिवलको दाना टिप्न उनी नरिवलको बोटमा चढेका थिए । चिप्लिएर उनी काठको थुप्रोमाथि झरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्