झापा , साउन १९ । झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित फेरि एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादह १ बस्ने ३७ वर्षिय कृष्णकुमार ताजपुरिया रहेका छन् । आज दिउँसो ३ बजे गौरादह बजारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे.७ प. ६७६७ नं. को मोटरसाईकल चालक ताजपुरियालाई खानतलासी गर्दा ६ ग्राम ब्राउनसुगर फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्दा गौरादह २ बस्ने ३९ वर्षिय सुमनकुमार कार्कीबाट किनेको खुलेपछि कार्कीको घरको सुत्ने कोठामा खानतलासी गर्दा खुल्ला प्लाष्टिकभित्र ३० ग्राम ब्राउनसुगर बरामद गरिएको थियो । कार्की तत्काल फरार रहेको हुँदा कडाईका साथ खोजतलास भईरहेको र ताजपुरियालाई कानुनी प्रकृयाको लागि ईप्रका. दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।