झापा , साउन १९ । झापामा कोरोना संक्रमणको जोखिम देशभरिकै उच्च रहेको छ ।
झापामा ३५ प्रतिशतभन्दा बढी कोरोना संक्रमण दर पाइएको हो । जवकि देशभरिको संक्रमण दर करिब २४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा मंगलबार ३४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ९११ जनालाई पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३४९ जनालाई संक्रमण पुष्टि भएको हो । जुन ३८.३ प्रतिशत हुन आउँछ । गएको साउन १४ गते संक्रमणको दर ४१.८ प्रतिशत रहेको थियो ।साउन १८ गते सोमबार झापाका १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पीसीआर र एन्टीजन गरी ५ सय ४८ जनाको परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबारको संक्रमण दर ३४.३ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाद्वारा जारी तथ्यांकमा उल्लेख छ । त्यस्तै साउन १७ गते जम्मा ५६४ परीक्षण भएकोमा २१७ जनामा संक्रमण पुष्टि भएको थियो । जुन ३८.४ प्रतिशत हुन आउँछ । साउन १६ गते ४१३ जनाको कोरोना परीक्षण गरिएको थियो । उक्त दिन १४४ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो दिनको संक्रमणको प्रतिशत ३४.८ थियो । साउन १५ गतेको स्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार ६५९ जनाको नमूना परीक्षण गर्दा २१७ जनामा संक्रमण देखियो । त्यो दिनको संक्रमणको प्रतिशत ३२.९ थियो । कार्यालयका अनुसार साउन १४ गते ७०९ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यो दिन २९७ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो दिनको संक्रमणको प्रतिशत ४१.८ थियो । त्यस्तै साउन १३ गते १०१५ जनाको परीक्षण गर्दा ३३४ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिनको संक्रमण दर ३२.९ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटा पालिकामध्ये शहरी क्षेत्रमा बढी संक्रमण फैलिएको पाइएको छ । दमक , बिर्तामोड , मेचीनगर , भद्रपुर , अर्जुनधारा , कनकाई नगरपालिकामा धेरै संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । उनले जनसँख्याको बढी चाप भएको क्षेत्रमा त्यसमा पनि भीडभाड गर्नाले संक्रमणको जोखिम बढेको बताए । जनस्वास्थ्यको न्यूनतम मापदण्डसमेत पालना नगर्दा संक्रमण रोकथाममा समस्या देखिएको उनको भनाई छ ।
सरकारले १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । जसमा झापामा पहिलो स्थानमा रहेको छ । त्यसपछि सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन् । यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन् । जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन् ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमण दर बढ्दै गएको बताए।