सुरेशआले ‘सर्जु’
बिर्तामोड , साउन २० । बैदेशिक रोजगारीमा राम्रो कमाई गर्न नसकेपछि झापाका एक युवकले आफ्नै पहलमा अहिले नेपाली हाते कागजको ब्यापारबाट राम्रो आम्दानी गरिरहेका छन् ।

विदेशमा रहँदा मासिक ३०–४० हजारको आम्दानीले घर खर्च र ऋण तिर्न मुश्किल परेपछि बिर्तामोड १० का नवराज चुडालले विदेशलाई चट्टै माया मारेर यो व्यवसाय शुरु गरेका हुन् । बिदेशमा ६–७ वर्ष बस्दासमेत खासै प्रगति गर्न नसकेपछि अहिले यो ब्यापारबाट भनेजस्तो आम्दानी गरेर उनी सन्तुष्ट छन् । आजभन्दा ४ वर्ष अगाडी आफ्ना बुबा भोला चुडालसँग उनले हाते कागजको ब्यापार शुरु गरेका थिए । शुरुमा बुबाको सहारा पाएकोले खासै गाह्रो नभएको उनी बताउँछन् । बुबाको स्वर्गबास भएपछि अहिले उनी एक्लैले व्यापार सम्हालेका छन् । उनका बुबा भोलाले ताप्लेजुंङमा नेपाली हाते कागजको उद्योग संचालन गरेका थिए । पछि बिर्तामोड १० मा हाते कागज उद्योग स्थापना गरे । उनी नै यस क्षेत्रमा हाते कागज उद्योग स्थापना गर्ने अग्रज उद्योगी मानिन्छन् ।
आई.ए.सम्मको अध्ययन गरेका नवराज सीटीईभीटीको १५ महिने सबओभरसियरको तालिमप्राप्त प्राबिधिक समेत हुन् । कतारमा पैसा कमाउन हिडेका उनी छुट्टीमा आएपछि बुवाले बिदेशमा कमाई हुने पैसा यही कागजको ब्यापारबाट हुने बताएपछि पुनः विदेश जाने सपना त्यागेका थिए । बृद्ध बुवालाई सघाउनु र बुवाको ब्यापारलाई निरन्तरता दिनु उनको लागि एकमात्र विकल्प थियो । उनले आखिर त्यही गरे । र, आज संघर्षका दिनहरु पार गर्दै नेपाली हाते कागजको सफल ब्यापारी समेत बन्न पुगेका छन् ।

अहिले उनका आफन्त नातागोताहरुले समेत बिर्तामोड १० र ३ मा ४–५ वटा नेपाली हाते कागजको उद्योग संचालन गरिरहेका छन् । यी सबैको प्रेरणाको श्रोत आफ्ना बुवा भएको उनी बताउँछन् । बिशेष गरेर नवराज भने मार्केटिंङमै धेरजसो समय ब्यस्त हुन्छन् ।

बिराटनगर, धरान, बीरगञ्ज, जनकपुरसम्म अहिले उनको कागजको माग छ । आफन्तहरुले उद्योगबाट उत्पादन गरेको नेपाली हाते कागज अर्डर अनुसार ब्यापारीहरु कहाँ पुर्याउनु र हिसाब लिनु उनको दिनचर्या बनेको छ । उत्पादित कागज संकलन गरेर उनी आफ्नो घरमा स्टक राख्छन् । त्यसलाई कटिंग,प्याकिंग गरेर अर्डर अनुसार ब्यापारीहरुकहाँ सप्लाई गरी आफ्नो मुनाफा छुट्याएर घर खर्च चलाउने गरेको उनले बताए । नेपाली हाते कागजका उद्योगी समेत रहेका आफन्त दाई पर्ने हरि चुडालले नवराजको खुलेरै प्रशंसा गरे ।

नवराजले यही व्यवसायबाट ४ जनाको परिवार पाल्दै आएका छन् । अन्य आम्दानीको खासै स्रोत छैन । उनको परिवारमा श्रीमती, एक छोरा र आमा छन् । ‘सबैलाई खान लाउन पुगेको छ घरको तल्लो तला पक्की इँटाले बनाएँ ’ उनले भने ,‘ सानो किराना पसल समेत घरैमा संचालन गरेर केही आम्दानी त्यताबाट पनि हुन्छ ।’ विदेशमा अर्काको नोकरी गरेर कसै–कसैलाई फाइदै भएपनि आफू पीडित भएर फर्कनु परेको उनले सुनाए ।स्वदेशमै केही गरे दीगो र भरपर्दो आम्दानी गर्न सकिने नवराजको बुझाई छ ।
बिर्तामोड १० स्थित सैनिकमोड– गोलधाप सडक किनारमा घर भएका नवराज नेपाली हाते कागजकै व्यापारमा जीवनभर लाग्नेमा बिश्वस्त छन् । उनी भन्छन् ‘बुढेसकालको सहारा अब यही ब्यापार हुन्छ होला ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्