बिर्तामोड , साउन २१ । झापाको गिरीबन्धु टी इस्टेट अन्यत्र स्थानान्तरण गरेर यहाँकोे जग्गा बिक्री गर्न लागेको चर्चासँगै यतिबेला नाफाखोरी र कमिशनखोरीहरु निकै सल्बलाएका छन् ।

अर्बौ रुपैयाँ पर्ने जग्गा बिक्री गर्दा आफूहरुलाई पनि धेरै लाभ मिल्न सक्ने भन्दै त्यस्ता ‘दलालहरु’ निकै सल्बलाएका हुन् । गिरी परिवारकै सुदर्शन गिरीको नाममा रहेको जग्गामा बिर्तामोड बसपार्क निर्माण गर्दा धेरैजना लाभान्वित भएका थिए । त्यही लोभले बिर्तामोड ६ र अर्जुनधारा ७ मा रहेको गिरीबन्धु टी इस्टेटको ३४४ विगाह जग्गा बिक्री गर्दा अझ धेरै फाइदा मिल्ने भन्दै धेरैजनाको चलखेल बढेको हो । विभिन्न राजनीतिक पार्टीका व्यक्तिदेखि लिएर भूमाफिया , पेशाकर्मीलगायतको दौडधुप बढेको छ । मन्त्रिपरिषदले निर्णय गरिसकेको र सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेको अबस्थामा चिया बगान अन्यत्र सारेर जग्गा बिक्री गर्न नदिने र जग्गा बिक्रीको लागि लबिङ गर्ने दुवै पक्षको दौडधुप अहिले काठमाडौंमा भइरहेको छ । झापाबाट केही व्यक्तिहरु मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न नदिने भन्दै काठमाडौं गएको गिरीबन्धु टी इस्टेटका संचालक छत्र गिरीले बताए । ‘ऐन कानूनले दिएको र सरकारले समेत निर्णय गरिसकेको विषयमा अनर्गल चर्चा गर्न चाहदैनौं’ उनले भने ,‘ गिरीबन्धु टी इस्टेट सार्ने कुरालाई उछाल्न निकैजना लागेका छन् ।’ त्यसप्रति आफूहरुले त्यति चासो नदिएको उनले बताए ।

गिरीबन्धु टी इस्टेटले हदबन्दी छुट लिएको ३४४ विगाहमा २०२१ सालमा चिया बगान लगाएको थियो । चियाको बोट बुढो भएर उत्पादन घट्दै गएपछि केही वर्षदेखि टी इस्टेट घाटामा संचालन हुँदै आएको छ । जमिनको उर्वराशक्ति घट्दै गएपछि केही वर्षदेखि आफूहरुले घाटा व्यहोरेर चिया बगान संचालन गर्नुपरिरहेको संचालक गिरीले बताए । ‘२० देखि २५ हजार मेट्रिक टन आउने चिया ५ हजारमा झरेको छ’ उनले भने ,‘ हामीले ३ सय गुणा नोक्सान व्यहोर्दै आएका छौं ।’ त्यही भएर चिया बगान सार्नुको विकल्प नरहेको उनले बताए । ‘संविधानले दिएको राइट टु प्रोपर्टी प्रयोग गर्ने अधिकार छ कि छैन ?’ उनले प्रश्न गरे ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी इस्टेट प्रालिको स्वामित्वमा रहेको जग्गा बिक्रीका लागि अनुमति दिने निर्णय गरेको थियो । तर ,सो जग्गाका विषयमा सर्वोच्चमा मुद्धा बिचाराधिन नै रहेको छ ।
ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदबाटै कम्पनीका नाममा रहेको जग्गाको सट्टापट्टा गर्न पाउने गरी गिरीबन्धुको स्वामित्वमा रहेको जग्गा बिक्रीको बाटो खोलिदिएको थियो ।
। गिरीबन्धु टी इस्टेटको नाममा रहेको जग्गा बिक्रीको लागि तयारी गरिएपछि २०७५ चैत्रमा भक्तराज भारतीले सर्वोच्च अदालतमा त्यसविरुद्ध रिट दायर गरेका थिए ।
सर्वोच्चमा दायर रिटमा न्यायाधीशद्वय मिरा खड्का र हरिकृष्ण कार्कीको इजलासले अन्तरिम आदेश दिँदै सो जग्गाको किनबेच र सट्टापट्टा रोकेर यथास्थितिमा नै राख्न आदेश दिएको थियो ।त्यसैगरी ऐनको विरुद्धमा ओम मिश्रले सर्वोच्चमा अर्को मृद्धा हालेका थिए । सर्वोच्चमा परेको सो मुद्धा विचाराधिन रहेको छ । पूर्ण फैसला आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्