झापा, साउन २२ । बिर्तामोड नगरपालिका ३ स्थित महेन्द्र रत्न मावि खोपकेन्द्रमा खोप लगाउन आउनेलाई पाँच ठाउँमा चेकजाँच गरियो । त्योसँगै लाइन , खानेपानी , पंखा , ग्लुकोज पानीलगायतको व्यवस्था पनि मिलाइएको थियो ।

कोरोनाविरुद्धको खोप लुकाएको घटनाका कारण विवाद भएपछि बिर्तामोड नगरपालिकामा खोप कार्यक्रमलाई व्यवस्थित गरिएको हो । ५० वर्षमाथि उमेर समूहका लागि आएको जोन्सन खोपलाई नगरपालिकाले व्यवस्थित गरेको हो । विद्यालयको गेटबाट प्रवेश गर्नेदेखि लिएर खोप लगाउने ठाउँसम्म पाँच ठाउँमा नागरिकता र नागरिकता नम्बर हेर्ने , इन्ट्री गर्ने , ठाउँठाउँमा आराम गर्न लगाउने , साबुनपानीले हात धुन लगाउने , सेनिटाइजर गर्ने , अन्तिम पटक चेकजाँच गरेपछि खोप लगाइदिने र ग्लुकोज पानी खुवाउने व्यवस्था मिलाइएको बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले बताए ।

बिर्तामोड ३ नं वडा कार्यालयले खोप कार्यक्रमलाई व्यवस्थित बनाउन वडा सदस्य पूर्ण राजवंशीको संयोजकत्वमा राजनीतिक पार्टीका प्रतिनिधि , विद्यार्थी , उद्योग वाणिज्य संघका प्रतिनिधि गरी २१ सदस्यीय कोरोना खोप व्यवस्थापन,अनुगमन तथा समन्वय समिति गठन गरेको थियो । त्यस्तै आकाश उप्रेतीको संयोजकत्वमा २५ जनाको स्वयंसेवक टीम परिचालन गरिएको छ । त्यसैगरी बिर्ताबजार प्रहरी चौकीका इन्चार्जको नेतृत्वमा ५ जना प्रहरी खटाइएको थियो । खोपकेन्द्रमा आउन अशक्त , असहाय र बृद्धबृद्धाका लागि ३ वटा अटोको व्यवस्था गरिएको थियो भने खोपकेन्द्रमा कुनै स्वास्थ्य समस्या आए देव मेडिकलका तर्फबाट प्राथमिक उपचार सेवाको व्यवस्था गरिएको वडाध्यक्ष सिटौलाले जानकारी दिए । बिर्तामोड नगरपालिकामा शुक्रबार र शनिबार ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम राखिएको छ । त्यसका लागि नगरका १० वडामा १० वटा खोपकेन्द्रको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए । यो चरणमा बिर्तामोडमा ४ हजार खोप आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्