बिर्तामोड , साउन २३ । विराट सरोवर बहुउद्देश्यीय विकास समितिको साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका वडा न.३ का वडा अध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य र समितिका अध्यक्ष इन्द्र प्रसाईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । शनिवार विश्व हिन्दु महासंघ जिल्ला समितिको विराटपोखरस्थित भवनमा आयोजित साधारणसभामा समितिका अध्यक्ष प्रसाईले आर्थिक प्रतिवेदनका साथै समितिले गरेको कार्य विवरण प्रस्तुत गरेका थिए । सभामा आगामी योजनाका बारेमा पनि विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सिटौलाले ऐतिहासिक तथा धार्मिक विराट पोखरीको दिगो विकासको लागि आफूले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । महेन्द्र रत्न माविका पूर्व प्रधानाध्यापक देवेन्द्र गौतमले समितिले सानातिना त्रुटी गरेपनि आगामी दिनमा राम्रो कार्य गर्न सुझाव दिए ।समितिका सदस्य हरिप्रसाद सिटौलाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य समितिका तर्फबाट उपाध्यक्ष मोहन उप्रेतीले गरेका थिए । साधारणसभामा विराटपोखर महिला संजालकी कृष्णा प्रसाई, विराटपोखर टोल विकास संस्थाका सन्तोष उप्रेती, विश्व हिन्दु महासंघका मोहन उप्रेती, विराट सरोवर शिब किर्तन मण्डलीका पुण्य प्रसाईलगायतले मन्तव्य राखेका थिए । साधारणसभामा समाजसेवी, नजिकका विभिन्न किर्तन मण्डलीका प्रतिनिधि,सरोकारवाला र स्थानीयको उपस्थिति थियो ।

सभामा प्रस्तुत प्रतिवेदन अनुमोदन गरिनुका साथै आगामी चैत्रमा नयाँ समिति चयन गरिने जानकारी दिइएको थियो । बिर्तामोड नगरपालिका वडा न.३ मा रहेको धार्मिक तथा ऐतिहासिक विराट पोखरीलाई संरक्षण र दिगो विकास गर्न विराट सरोवर बहुउद्देश्यीय विकास समिति गठन भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्