पाँचथर , साउन २६ । हावाहुरीसहितको वर्षाका कारण कुम्मायक गाउँपालिका वडा नम्बर ३ मा मकै बालीमा ठूलो क्षति पुगेको छ ।

शुक्रवार आएको हावाहुरीसहितको वर्षाका कारण कुम्मायक ३ डाडाँगाउँका कृषकको मकै बालीमा क्षति पुगेको हो । पाक्न लागेको बाली नष्ट भएपछि कृषक चिन्तित बनेका छन् ।

रिखिलाल खनालको ४५ रोपनी क्षेत्रफलमा लगाईएको मकै बाली नष्ट भएको छ । त्यस्तै अग्नीप्रसाद खनालको ५० रोपनी, कृष्णप्रसाद माझीको ६० रोपनी, बृख देवानको १०० रोपनी , यमलाल खनालको ३० रोपनी, नरेन्द्रबहादुर बुढाथोकीको ४५ रोपनीमा लगाईएको मकै बाली हावाहुरीले नष्ट गरेको हो । त्यस्तै मनसुुन्दर बुढाथोकीको ३० रोपनी र कुमार महराको मकै बाली पनि हावाहुरीले नष्ट गरेको जनाइएको छ । सोही दिनको भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले चौपाया समेत बगाएको छ । कुम्मायक ३ कात्तिकेका नरबहादुर माझी र गौरीलाल माझीको एउटा गोरु र एउटा गाई बगाएको हो ।

कुम्मायक गाउँपालिका ३ का वडाध्यक्ष रामप्रसाद गजुरेलसहितको टोलीले क्षति भएको मकै बालीको अवलोकन गरेको छ । अवलोकनपछि वडाध्यक्ष गजुरेलले कृषकलाई क्षतिपूर्ति दिनका लागि पहल गर्ने र बाली नष्ट भएका कृषकलाई मकैको बीउ उपलब्ध गराउने आश्वासन दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्