बिर्तामोड , साउन २७ । होटल खोलेको निहुँमा बिर्तामाडका एक होटल संचालकलाई जिल्ला प्रशासन कार्यालयले २० हजार रुपैयाँ जरिवाना गरेपछि त्यसको व्यवसायीहरुले तीब्र विरोध जनाएका छन् ।

निषेधाज्ञा उल्लंघन गरी होटल संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले बिर्तामोड ५ मा फुटस्टेप होटल संचालन गर्ने तिलहाङ लिम्बुलाई २० हजार रुपैयाँ जरिवाना तिराएको थियो । सामाजिक संजालमार्फत व्यवसायीहरुले त्यस कार्वाहीको खुलेर विरोध जनाएका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले सामाजिक संजालमा लेखेका छन् –
‘सामान्य होटल खोलेको निहुँमा एउटा व्यवसायीलाई अपराधीलाई जस्तो रु २०००० जरिवाना गराउने निर्णय खेदजनक छ । खासगरी निषेधाज्ञाको हप्तैपिच्छे निर्णय मात्र परिवर्तन गर्ने कार्यान्वयनमा शून्य , श्रीमानलाई हजारौंको भीडमा प्रहरीको स्कटिङमा आफू भिआईपीको मलामी जाँदा निषेधाज्ञा पालना भयो कि ?तपाईंको जिम्मेवारीमा त्यो पर्दैन ?? अहिले करोडौंका कृषि वस्तुहरु बजार बन्दका कारण बारीमा सडिएका छन् एउटा सानो उदाहरण झापाको बत्तीस बिघेमा गएर केरा खेती हेर्नुहोस् ।अब यसरी केही आंैलामा आउने व्यवसाय मात्र खोलेर अन्य व्यवसयीलाई दमन गर्ने नीति हामीलाई स्विकार्य छैन । सबै व्यवसायीलाई चाँडो खोपको प्रबन्ध मिलाई व्यवसाय संचालन गर्ने वातावरण बनाउनु होस् नत्र सबै व्यवसायीका सटरका ताला बुझाउन हामी बाध्य हुनेछौ ।’
त्यसैगरी कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेतीले पनि विरोध जनाएका छन् । उनले लेखेका छन् – बिर्तामोडका होटल ब्यवसायीमाथिको दण्ड जरिवाना खेदयोग्य छ । दलका र्यालि र प्रदर्शनमा कहाँ छ प्रशासन ? किन तमासे मात्रै बन्छ ? लकडाउन समस्याको समाधान होईन तर खोई त खोप ? ब्यवसायीहरुमाथिको निरन्तर प्रहार निन्दनीय छ ।यस्तो कार्यको प्रतिवाद गरौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्