झापा , साउन २७ । डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी पुरस्कृत हुने भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला कार्य समिति झापाले २२ औं स्थापना दिवसको अवसरमा आज सो घोषणा गरेको हो । डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ राजवंशीलाई प्रदान गरिने भएको हो । त्यस्तै यस वर्षको पुरस्कार भने पत्रकार कमन देवानलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि जनही २५ हजार नगद रहेको छ । कोरोना महामारीका कारण गत वर्ष सो पुरस्कार प्रदान गर्न सकिएको थिएन । त्यस्तै उदयीमान पत्रकारिता पुरस्कार २०७७ मिना नेम्बाङ, सुभला तामाङ, २०७८ का लागि डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र लीला राईलाई छनौंट गरिएको फोनिज झापाका अध्यक्ष बिशाल नेम्बाङले बताए । उदयीमान पत्रकारिता पुरस्कारको राशि जनही ५ हजार रुपैयाँ रहेको छ ।आगामी अधिवेशनमा सो पुरस्कार वितरण गरिने अध्यक्षले नेम्बाङले जानकारी दिए । फोनिज झापाले हरेक स्थापना दिवसमा डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार २ जना नयाँ पत्रकारलाई वितरण गर्दै आएको छ ।
फोनिजका झापा जिल्ला अध्यक्ष नेम्बाङको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रममा फोनिजका केन्द्रिय सचिव कमन देवान प्रमुख अतिथि रहेका थिए । त्यस्तै अतिथिहरुमा फोनिजका प्रदेश १ अध्यक्ष अर्जुन जम्नेली राई, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेती, प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि देवानले कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘ कोरोना संक्रमणबाट संक्रमित पत्रकारहरुलाई निशुल्क उपचारको व्यवस्था गरिदिन राज्यसँग अनुरोध गर्दछु ।’
शुभकामना मन्तव्य दिदै पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले फोनिज झापासँग सहकार्य गर्दै अगाडि बढ्न महासंघ सधै तत्पर रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्