झापा , साउन २९ । प्रहरी हुँ भन्दै कुटपिट गर्दै पैसा माग्ने झापाका दुईजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका–७ का ४० वर्षिय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षिय टिका खत्री रहेका छन् । दुवैजनालाई बिहीबार ईलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैले गत साउन ११ गते बिर्तामोड नगरपालिका ५ जात्रुबारी बस्ने नयनसरी राजवंशीको घरमा गई ‘हामी सिभिल प्रहरी हौं तपाईंको छोरा लागूऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो भन्दै छोरालाई बचाउने हो भने २० हजार दिनु, नभए मुद्दा हालिदिन्छौ’ भन्दै १ हजार १ सय रुपैयाँ लिएका थिए । ‘हामी पछि फेरि लिन आउँछौ’ भन्दै धम्काउँदै गएको र फेरि साउन १४ गते राति ९ः३० बजेतिर घरमा आई नयनसरीका छोरा २५ वर्षिय विशाललाई बोलाई ‘हामी एउटा मिशनमा आएको किन गाउँको मान्छेलाई हल्ला गरी बोलाएको’ भन्दै उप्रेतीले आफूले लगाएको बेल्टले राजवंशीलगायत अन्य व्यक्तिहरुलाई समेत कुटपिट गरेका थिए । पीडित नयनसरीले साउन २२ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् । उजुरीपश्चात् आरोपित दुवैजनालाई पक्राउ गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र उनीहरुमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्