झापा ,साउन २९ । देशकै सबैभन्दा अति उच्च जोखिममा रहेको झापामा निषेधाज्ञाले मात्र कोरोना संक्रमण रोकथाम नहुने देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले लगातार निषेधाज्ञा लगाइरहँदा समेत झापामा कोरोना संक्रमणको चेनब्रेक हुन सकेको छैन । त्यसको सट्टा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दो क्रममा छ ।
मृत्यु हुनेको सँख्या ५ सय नाघ्यो
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ सय नाघेको छ । बुधबार कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान जानेको सँख्या ५०३ पुगेको हो । बुधबार एकैदिन मेची अस्पतालमा तीनजनाको मृत्यु भएको छ । भद्रपुरका ७६ वर्षिय पुरुष , गौरादहका ४४ वर्षिय पुरुष र मेचीनगरका ७६ वर्षिय पुरुषको मेची अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इलामकी ७० वर्षिया महिलाको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । बिहीबार भने कसैको पनि मृत्यु भएको छैन ।
झापामा कोरोना संक्रमितको मृत्युको तथ्यांकलाई हेर्दा दोस्रो लहरमा ३७४ जनाको ज्यान गएको छ भने पहिलो लहरमा १२९ जनाको मृत्यु भएको थियो । दोस्रो लहरमा जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा बढी बिर्तामोडमा २९ महिला र २० पुरुष गरी ४९ जनाको मृत्यु भएको छ । त्यस्तै दमकमा १४ महिलासहित ४६ जना , मेचीनगरमा १७ महिलासहित ४२ जना , भद्रपुरमा ७ महिलासहित ३१ जना , अर्जुनधारामा १९ महिलासहित ३० जना , कनकाईमा ७ महिलासहित १९ जना , गौरादहमा ४ महिलासहित ११ जना , शिवसताक्षीमा ५ महिलासहित १४ जना , बुद्धशान्तिमा ११ महिलासहित २४ जना , हल्दिबारीमा २ महिलासहित ८ जना, कचनकवलमा एक महिलासहित ४ जना , कमलमा ४ महिलासहित ९ जना , गौरीगञ्जमा एक महिलासहित ४ जना , बाह्रदशीमा ४ महिलासहित ८ जना , झापा गापामा ३ महिलासहित ७ जना र अन्यमा २४ महिलासहित ६० जना रहेका छन् ।
त्यसैगरी झापामा कूल कोरोना संक्रमितको सँख्या २५ हजार नाघेको छ । जिल्लाका कूल संक्रमितको सँख्या २५ हजार १९८ पुगेको हो । त्यसमध्ये १७ हजार ४३४ जना डिस्चार्ज भएका छन् । अहिले ३ हजार ३२३ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
देशकै अति उच्च जोखिममा
सरकारले देशका १७ वटा जिल्लालाई कोरोना संक्रमणको अति उच्च जोखिममा राखेको छ । त्यसमध्ये झापा पहिलो नम्बरमा रहेको छ । ५ सयभन्दा माथि सक्रिय संक्रमित हुने जिल्लालाई सरकारले जोखिमयुक्त क्षेत्रको रुपमा सूचीकृत गरेको छ । जबकि झापामा सक्रिय संक्रमितको सँख्या ३ हजार ३२३ रहेको छ । त्यो हिसाबले झापा कोरोनाको अत्यन्त धेरै जोखिममा रहेको छ । जिल्लाका १५ वटा पालिकाको संक्रमण दरलाई हेर्दा बिर्तामोड , दमक , मेचीनगर र भद्रपुर रेडजोनमा रहेका छन् । शहरी क्षेत्रमा जनसँख्याको चापसँगै बढी भीडभाड हुने भएकाले संक्रमण दर उच्च पाइएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । त्यस्तै संक्रमितहरुको उमेर समूहलाई हेर्ने हो भने दोस्रो लहरमा १९ देखि ६० वर्षसम्म ४६.०८ प्रतिशत र ६१ वर्षदेखि माथि ५३.९२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।
निषेधाज्ञाले मात्र संक्रमण रोकिदैन–प्रजिअ
जिल्लामा कोरोना संक्रमण जटिल बन्दै गएको छ । अब निषेधाज्ञाले मात्र कोरोना संक्रमण रोकिने अबस्था नरहेको डिसीसीएमसीका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । देशकै सबैभन्दा उच्च जोखिममा रहेर रेडजोनमै परेकाले अबस्था सामान्य नभएको बताउँदै उनले अझ सतर्क हुनुपर्ने आबश्यकता औल्याए । ‘कोरोना संक्रमण चेनब्रेक भएकै छैन’उनले भने ,‘ कोरोना संक्रमण रोकथाम अपेक्षा बमोजिम हुन सकिरहेको छैन ।’ जिल्लाका १० वटा पालिकाहरुले आ–आफ्नो क्षेत्र सिल गरिरहँदा जिल्लाभर एकरुपता ल्याउन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेको प्रजिअ तिमिल्सिनाले बताए । प्रहरी प्रशासनले एक्लैले संक्रमण रोकथाम गर्ने अबस्था नदेखिएको भन्दै उनले अब प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्ने बताए । ‘ प्रत्येक पालिकाले निषेधाज्ञा कार्यान्वयन र अनुगमनको पाटोमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नु पर्यो ’ उनले भने , ‘ टोलको एउटा क्लब , टोल विकास समितिदेखि लिएर प्रत्येक नागरिक जिम्मेवार बन्नैपर्ने देखियो नत्र गाह्रो हुने भयो ।’
१ लाख ७५ हजार जनालाई खोप
झापा जिल्लाका १ लाख ७५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोप कार्यक्रम जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण रोक्न भ्याक्सिनेशन नै भरपर्दो उपाय भएको प्रजिअ तिमिल्सिनाले बताए । सरकारले देशका सबै नागरिकलाई चैतभित्र कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको प्रजिअ तिमिल्सिनाले बताए ।‘ कोरोनाविरुद्धको खोप कार्यक्रम नियमित रुपमा चलिरहेको छ ’ उनले भने,‘ आशा छ जिल्लावासी सबैले खोप लगाउन पाउँछन् ।’