बिर्तामोड , साउन ३० । नेवा देय दवू बिर्तामोड नगर समितिको आयोजनामा यस वर्षको लाखे जात्रा शुरु भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं ९ मा रहेको भिमसेन मन्दिरबाट बिधिवत पुजा गरी लाखे जात्रा शुरु गरिएको हो । ‘हाम्रो संस्कृति हाम्रो जात्रा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विश्वब्यापी कोरोना कहरलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अनुसार नेवा देय दवू प्रदेश नम्बर १ का सहसंयोजक इन्द्रबहादुर श्रेष्ठ, नेवा देय दवू बिर्तामोड नगर अध्यक्ष ओमप्रकाश श्रेष्ठ, नेवा देय दवू वडा नं २ समितिका जंगबहादुर श्रेष्ठ र नेवा देय दवू वडा न ९ का केही सदस्यहरूको मात्र उपस्थिति रहेको थियो । लाखे जात्रा बिर्तामोड ९ को भिमसेन मन्दिरबाट शुरू भई नजिकै रहेको पंचकन्या मन्दिर परिक्रमा गरेर पुनः भिमसेन मन्दिर पुगेर बिसर्जन गरिएको थियो।

प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गठेमङ्गल पर्व मनाउँदै यो लाखे नाच शुरु हुने भएता पनि बिर्तामोडमा भने साउन शुक्ल पन्चमीका दिन शुरु भएको छ । सामाजिक एकता, मेलमिलाप र मनोरञ्जन दिनका लागि देखाइने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ । नेवार समुदायमा प्रचलित लाखे नाच निकै लोकप्रिय भए पनि सरोकारवाला र स्थानीयको बेवास्ताले विस्तारै संकटमा पर्न थालेको छ । खासगरी युवापुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न नसकेको सरोकारवालाको गुनासो छ ।

विगतमा निकै लोकप्रिय र भव्य स्थानीय पर्वका रूपमा रहेको लाखे नाच पछिल्लो समयमा स्थानीय समुदायको बेवास्ताले लोप हुन थालेको छ । द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमूना भएको पुराना बुढापाकाको भनाइ छ ।लाखे नाचका क्रममा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यंग्य प्रहार गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाहीका प्रतीकका रूपमा विभिन्न काला, सेता र अन्य रङ्गका मुखुण्डो लगाएका भप्पु र अन्य हास्य पात्रका रमाइला र मनोरञ्जनात्मक गतिविधिले स्थानीय बस्ती र बजारमा छुट्टै रौनक छाउने गर्दछ ।