झापा , साउन ३० । पुरै जिल्लामा लगातार निषेधाज्ञा जारी राख्दा विरोध भएपछि झापामा अब स्मार्ट लकडाउन लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आइतबार राति सकिएपछि स्मार्ट लकडाउनको निर्णय गरिने भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बस्ने बैठकले त्यसबारे निर्णय गर्न लागेको डीसीसीएमसीका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।
‘जहाँ संक्रमण बढी छ, त्यहाँ मात्र लकडाउन गर्न सक्ने अवधारणा अनुसार स्मार्ट लकडाउन लगाउन खोजिएको हो । सो प्रस्ताव सीसीएमसीले यसअघि गरिसकेकोे छ । वैज्ञानिक र व्यावहारिक हुनेगरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको तिमिल्सिनाले स्पष्ट पारे । कोरोना संक्रमणको जोखिमको मात्रालाई रेड जोन , ग्रीन जोन र एल्लो जोन निर्धारण गरिने उनले बताए । संक्रमणको उच्च जोखिम भएको ठाउँलाई रेड जोन घोषणा गरी सिल गरिने र कम संक्रमण भएका ठाउँलाई ग्रीन जोन र एल्लो जोन घोषणा गरी खुकुलो बनाउँदै लगिने उनले जानकारी दिए ।

स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ।
यसैबीच पछिल्लो समय झापामा कोरोना संक्रमण ह्वात्तै बढेपछि आइपुगेको सीसीएमसीको टोलीले शुक्रवार झापा जिल्लाका कोभिड अतिप्रभावित स्थानहरूको निरीक्षण गरेको छ ।चिकित्सकसहित सीसीएमसीका प्रमुखको नेतृत्वमा काठमाडौँबाट सुरक्षा निकायका उच्च अधिकारीसहित जिल्ला अनुगमनमा आएको टोलीले झापाका कोभिड अतिप्रभावित क्षेत्र, होल्डिङ सेन्टरसहित सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण गरेको हो ।

निरीक्षण टोलीमा सीसीएमसीका प्रमुख बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रमुख भगवान कोइराला, तीनवटै सुरक्षा निकायका उच्च अधिकारीलगायत प्रतिनिधिहरूको सहभागिता रहेका थियो । टोलीले जिल्लाको कोरोना अतिप्रभावित पालिका बुद्धशान्तिले सञ्चालन गरेको आइसोलेसन सेन्टरको अनुगमन र निरीक्षण गरेको थियो । टोलीले जिल्ला प्रशासन कार्यालयमा डीसीसीएमसीका प्रतिनिधिसँग छलफल गरेको थियो । सीसीएमसीको टोलीले कोरोना संक्रमण रोकथाममा भए गरेका प्रयासका बारेमा जानकारी लिदै अहिलेसम्म सह्रानीय काम भएको प्रतिक्रिया दिएको प्रजिअ तिमिल्सिनाले बताए । कोरोना संक्रमण रोकथामका लागि स्थानीय तह , प्रदेश सरकारगरी सबै लाग्नुपर्ने सुझाव टोलीले दिएको उनले बताए ।
छलफलमा सीसीएमसीका प्रतिनिधिले जिल्लामा कोरोना संक्रमण नियन्त्रण लागि गरिँदै आएका कार्यक्रमलगायत सम्पूर्ण गतिविधिहरूको बारेमा जानकारी लिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइले जानकारी दिएका छन् । पछिल्लो समय झापामा परीक्षणको ६० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएकोले जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने विज्ञहरूले आँकलन गर्दैगर्दा स्वास्थ्यकर्मीसहित सीसीएमसीको टोली जिल्ला अनुगमनमा आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्