झापा , साउन ३१ । बिर्तामोडको एक होटेलमा कोरोनाविरुद्धको खोप भेटिएको घटनाका विषयमा छानबिन गर्न बनेको समितिले आज प्रतिवेदन तयार गर्ने भएको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा बनेको पाँच सदस्यीय समितिले आज प्रतिवेदन तयार गर्ने भएको हो । गत साउन १६ गते गठित छानबिन समितिले एक साताको म्याद पाएको थियो । त्यस म्यादभित्र अनुसन्धान नसकिएपछि फेरि एक साताको म्याद थपिएको थियो ।
दुई साताको म्याद सकिएकाले आज निश्कर्षसहितको प्रतिवेदन तयार गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले प्रतिदिनलाई बताए । ‘आज हामी सबै अध्ययन अनुसन्धानको बिश्लेषण गर्छांै ’उनले भने,‘ त्यसपछि प्रतिवेदन तयार गर्छौं ’ उनले आफूहरुले गहिरो अध्ययन अनुसन्धान गरेको बताउँदै केही प्रमाण खोज्न बाँकी देखिए अझै दुई दिनको समय माग्नका लागि अनुरोध गर्ने जानकारी दिए । घटनाको विषयमा फिल्डमा गएर बुझ्नका लागि समितिलाई एक साता लागेको उनले जानकारी दिए । समितिको सदस्यमा समन्वय समिति झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डिएसपी प्रेम प्रसाईँ र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् । समितिले बिर्तामोड नगरपालिकास्थित टाइमलेस मोमेन्ट होटेलमा कोरोना विरुद्धको खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओम खडका शंकास्पद अवस्थामा फेला परेको सम्बन्धमा छानबिन गरी प्रतिवेदन बुझाउने छ । छानबिन शुरु भएपछि घट्नामा संलग्न भनिएका खड्का यसअघि नै निलम्बित गरिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्