भद्रपुर, साउन ३१ । झापा भद्रपुर ९ का स्थानीयहरुले विद्युुत प्राधिकरण भद्रपुर वितरण शाखाले बस्ती बसेको घरधुरीको आधारमा पोल वितरण नगरिदिँदा आफूहरु जोखिममा परेको बताएका छन् ।

उनीहरुले मुख्य राजमार्गका पोलहरुबाट तार तानेर २ किलोमिटर टाढासम्मको बस्तीसम्म बासको साटोमा तार बेरेर लैजानु पर्दा हावाहुरी र चट्याङ परेको बेला तार चुँडिने र विद्युत सर्ट भई आगलागी समेत हुन सक्ने संभावित दुर्घटनाले आफूहरु अत्यन्तै जोखिममा रहेको बताएका हुन् ।
प्राधिकरणले बस्ती नभएको ठाउँमा पहुँचका भरमा तत्काल पोल पुर्याईदिने र बर्षौदेखि बस्ती भएको ठाउँमा जतिनै आवाज उठाए पनि पोल दिन कन्जुस्याइँ गर्दा जोखिम दिनदिनै बढेर गएको उनीहरु बताउँछन् ।

पुरानो मकिएको काठको पोल भद्रपुर नगरपालिकाभित्र हटाई सकियो भनेर भन्ने तर नहटाउने र बस्ती भएको ठाउँमा समेत प्राधिकराणले पोल विस्तार नगरिदिँदा आफूहरुलाई समस्या भएको स्थानीयहरुको भनाई छ ।
जोखिमयुक्त अबस्थामा केही समयका लागि मात्र भनेर ल्याईएका तारबाट हावाहुरी बतास आउँदा तार सर्ट भई आफूहरुको घरपरिवारमा आगलागी हुने डरले जहिले पनि त्रासमा बस्नु परेको स्थानीयहरुको गुनासो छ ।
पोलको अभावमा आफ्नो टिनको छाना भएको घरमा बर्षौदेखि तार झुण्डिएको र तारको व्यवस्थापन गर्न आफूले पटकपटक निवेदन दिएपनि प्रधिकरणले नसुनेको केदारेश्वर टोल विकास संस्थाअन्तर्गत डाँफे मिलन चौक निवासी तिलकप्रसाद बुढाथोकीले बताए ।
तत्काल झुण्डिएका छरपष्ट तारहरुको व्यवस्थापन गरी पोलको विस्तार गर्न माग गर्दै हावाहुरी आएर तार सर्ट भई घर जल्ने अबस्था सिर्जना भएमा त्यसको जिम्मेवार प्राधिकरणले लिनु पर्ने उनको भनाई छ ।

आफूहरुले प्राधिकरणमा पोल विस्तारको लागि निवेदन दिएको र प्राधिकरणले निवेदन दिएपश्चात अनुगमन समेत गरेपनि महिनांै बितिसक्दा पनि विस्तारको कार्यमा सुनुवाइ नगरेको टोलवासीहरुको भनाइ छ ।
पोलको अभावका कारण राजमार्गदेखि वासको साटोमा तार बेरेर घर बस्ती भएको ठाउँमा लगेर विद्युत प्रयोग गर्दा २–२ महिनामा वासका साटाहरु फेर्नुपर्ने ,खेतवारीमा तार झुण्डिएर खेती गर्न समेत समस्या हुने गरेको सिंग्रिभिट्टा निवासी नारायण शंकरले बताए ।
उनले यस्तो अबस्थामा तारको व्यवस्थापन नहँुदा आफूहरु हावाहुरी बतास आउँदा जुनसुकै बेला पनि विद्युतीय जोखिममा रहेको बताए ।
यस्तो जोखिमपूर्ण तरिकाले प्रयोग गरिएको बत्तीको विल समेत पुरै तिर्नुपर्ने बाध्यता रहेको र सबै कुराहरुमा प्राधिकरणले आफूहरुलाई अन्याय गरेको उनीहरुको भनाई छ ।
त्यस क्षेत्रका आम उपभोक्ताहरुले आफूहरुले दिएको निवेदनका आधारमा तत्काल पोल विस्तार गरी जोखिम हटाइ माग सुनुवाइ गर्नुपर्ने बताएका छन् ।

उनीहरुले सरकारले अतिविपन्न परिवारलाई मिटरबक्स दिने निर्णय गरेबमोजिम पैसा जम्मा गरेपनि अहिलेसम्म मिटर नपाएको गुनासो छ ।
स्थानीयका माग पुरा गर्न वडा कार्यालयबाट सिफारिस गरी पठाई सकिएकोले प्राधिकरणले माग सुनुवाइ गरी तत्काल समस्याको समाधान गरी दिनुपर्ने वडा न ९ का जनप्रतिनिधि नुतन पौडेलले बताइन् ।
बस्ती नभएको ठाउँमा पोल विस्तार गर्नुको सट्टा बस्ती भएको ठाउँमा पोल विस्तार गरी समस्याको समाधान गर्नुपर्ने स्थानीय उपभोक्ताहरुको भनाइ छ ।
यता प्राधिकरण प्रमुख संजीव शाहले भने निरन्तर लकडाउनका कारण समयमा काम हुन नसकेको स्वीकार्दै लकडाउन खुलेसंगै सबै काम निरन्तर गरिदै लगिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्